गलकोट नगरपालिका १० पाण्डबखानीमा ५ दिने धुप तथा अगरबत्ती बनाउने तालिम सम्पन्न भएको छ ।
गलकोट नगरपालिकाको आर्थिक सहयोग तथा महिला जागरण केन्द्र पाण्डवखानीको आयोजनामा गत शनिवारदेखी सञ्चालित ५ दिने धुप तथा अगरबत्ती बनाउने तालिम आज सम्पन्न भएको हो ।
कार्यक्रममा गलकोट नगरपालिका वडा नम्वर १० का वडा अध्यक्ष भक्त बहादुर काउचाले तालिममा सिकेको कुराहरुलाई व्यवहारमा उतारी उत्कृष्ट व्यवसायी बन्नको लागि आग्रह गर्नुभएको थियो ।
गलकोट नगरपालिका वडा नम्वर १० भित्रका ५५ जना महिलाहरुको सहभागिता रहेको तालिमको सहजिकरण गलकोटका उद्यमी अमिषा थापा घर्तीले गर्नुभएको थियो ।
प्रशिक्षक थापा बजार गएको समयमा विभिन्न मठ मन्दिरहरुमा जाने क्रममा प्रयोग हुने मैनबत्ती भारत, चिन, तराइ क्षेत्रमा उत्पादन हुने गरेको देखेपछी आफ्नै घरमा प्रयास गरी सफल भएपछि सृजल लघु उद्यम द्घारा संचालित पाँचपाण्डब मैनबत्ती तथा घुम्टे सिद्घ भैरव अगरबत्ती उद्योग लाई निरन्तरता दिई राख्नुभएको छ । पछिल्लो समयमा विभिन्न क्षेत्रमा माग बड्ढै गएको अवस्थामा उहाँ गलकोट क्षेत्रकै उत्कृष्ट सफल व्यवसायको रुपमा चिनिनुभएको छ ।
कार्यक्रम महिला जागरण केन्द्र पाण्डवखानीका अध्यक्ष राधिका पुनको अध्यक्षता र सचिव आशा श्रीसको सञ्चालनमा सम्पन्न भएको थियो ।