राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को फागुनमा हुने भनिएको महाधिवेशन अनिश्चित बनेको छ, किनकि सभापति रवि लामिछाने सहकारी ठगी मुद्दामा जेलमा छन्।
लामिछानेको मुद्दाका कारण महाधिवेशनको मिति पटक(पटक सर्दै आएको छ, र पार्टीले निर्वाचन आयोगको भूमिकाप्रति शंका व्यक्त गरेको छ। पार्टीका नेताहरूले लामिछानेको अनुपस्थितिमा महाधिवेशन कसरी गर्ने भन्नेबारे छलफल गरिरहेका छन्, तर निर्धारित समयमै महाधिवेशन सम्पन्न हुनेमा विश्वास व्यक्त गरेका छन्।
पार्टी स्थापनाको तीन वर्षमै विभिन्न मुद्दा–मामिलामा अल्झिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को फागुनमा प्रस्ताव गरिएको महाधिवेशन हुनेरनहुनेमा अन्योल देखिएको छ । गत वैशाख ४ गते बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको पूर्वनिर्धारित मिति परिवर्तन गरी फागुन ७, ८ र ९ गते चितवनमा गर्ने निर्णय गरेको थियो ।
तर सहकारी ठगी मुद्दा लागेका सभापति रवि लामिछानेलाई जेठ ९ गते सर्वोच्च अदालतले तुलसीपुरको उच्च अदालत, बुटवल इजलासले पुर्पक्षमा पठाउने आदेशलाई नै सदर गरेपछि उनी अहिले भैरहवा जेलमा छन् । सुप्रिम सहकारी ठगीको मुद्दा उनले जिल्ला अदालत रुपन्देहीबाट नटुङ्गिदासम्म रवि थुनामै बस्नुपर्ने हुन्छ ।
जिल्ला अदालतले सफाइ दिए पनि लामिछानेले कास्की, चितवन, काठमाडौँ, पर्सा जिल्ला अदालतमा विचाराधीन मुद्दाको पनि सामना गर्नुपर्ने हुन्छ । लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरण मुद्दासमेत छ । यी सबैबाट सफाइ पाए भनेमात्र उनी थुनामुक्त हुनेछन् ।
गोरखा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्धक निर्देशक रहेका रविले अध्यक्ष जीबी राईसँग मिलेर विभिन्न सहकारीको ६५ करोड बचत रकम हिनामिना गरेको आरोपमा मुद्दा खेपिरहेका छन् ।
रास्वपाको सम्पूर्ण शक्ति अहिले सभापतिको बचाउमै केन्द्रित छ ।
निर्वाचन आयोगको भूमिकाप्रति पनि रास्वपाका नेताहरू सशंकित देखिएका छन् । लामिछाने जेलमै रहेको अवस्थामा पार्टीका पूर्वमहामन्त्री डा।मुकुल ढकालले रास्वपाको आधिकारिक महामन्त्री आफू नै भएको दाबीसहित सर्वोच्च अदालतमा मुद्दा हालेका छन् ।
लामिछानेको मुद्दा–मामिलाकै कारण यसअघि वैशाख २५, २६ र २७ गते प्रथम राष्ट्रिय महाधिवेशन गर्ने निर्णय कार्यान्वयन हुन सकेन । २०८१ असोज १ र २ गते सम्पन्न रास्वपाको राष्ट्रिय भेलाले महाधिवेशन गर्ने निर्णय गरेको थियो । रास्वपाले २०८२ असोजसम्म वडा अधिवेशन, कात्तिकसम्म पालिका अधिवेशन, मंसिरसम्म जिल्ला अधिवेशन र माघ १५ सम्म प्रदेश अधिवेशन सम्पन्न गर्नुपर्ने निर्णय गरेको थियो ।
पार्टी सभापति नै जेलमा रहेको अवस्थामा महाधिवेशन होला भन्ने प्रश्नमा महामन्त्री कविन्द्र बुर्लाकोटीले लामिछाने, केन्द्रीय समिति, कानुन विभाग लगायत सबै पक्षसँग सल्लाह गरेरै विकल्प निकाल्ने स्पष्ट पारे ।
‘महाधिवेशनको पछिल्लो मिति धेरै परामर्श गरेर टुङ्ग्याएको हो । सभापति अहिले पुर्पक्षमा हुँदै गर्दा त्यही मितिमा महाधिवेशन गर्न थप परामर्श आवश्यक हुन्छ । त्यसका लागि सभापति, केन्द्रीय समिति, कानुन विभाग लगायत सबैसँग कानुनी परामर्श गरेर विकल्प निकाल्छौँ’, उनले भने, ‘आम निर्वाचनअघि महाधिवेशन हुन्छ ।
केन्द्रीय समितिले निर्णय गरेको कार्यतालिका नै त्यही छ । कार्यान्वयन गर्ने जिम्मेवारी महामन्त्रीको भएकाले भएको निर्णय नै समातेर हिँड्ने हो । सभापति थुनामै रहेको वेलामा पनि उहाँसँग सल्लाह गरेर नै विकल्प खोजिन्छ ।’
उनका अनुसार हालसम्म एक हजारभन्दा बढी वडामा अधिवेशन सम्पन्न भएको छ । करिब चार सय वडामा अधिवेशन तयारी अवस्थामा छ ।
बर्खाको कारणले कतै अलि ढिलो भए पनि कतै यही स्थितिमा अधिवेशनको तयारी भइरहेका बुर्लाकोटीले जानकारी दिए । उनले पालिकामा अहिलेसम्म ३२ वटा जतिमा भइसकेको र ५० वटा पालिकामा तयारी अवस्थामा रहेको जानकारी दिए
‘मैले दिएको तथ्याङ्क ७० प्रतिशत वडामा भएको अधिवेशनको आधारमा भनेको हो । अन्य पालिकामा पनि भदौ–असोजमा हुन्छ । त्यतिवेलासम्म लगभग सबै पालिकामा सकिन्छ । क्यालेन्डरलाई नै पूरा गर्नेगरी अगाडि बढ्छौँ । अधिवेशन हुन नसकेको खण्डमा तदर्थ समितिलाई नै प्रतिनिधि पठाउनेगरी प्रस्ताव हुँदैछ । त्योभन्दा अगाडि नै अधिवेशन सक्नेगरी जान्छौँ’, बुर्लाकोटीले भने ।
प्रवक्ता मनिष झाले पनि महाधिवेशन आउन अझै आठ महिना रहेकाले निर्धारित मितिमै सम्पन्न हुने विश्वास व्यक्त गरे । महाधिवेशनको क्यालेण्डर अनुसार नै काम भइरहेको झाले दाबी गरे ।
‘पार्टीभित्र छलफल गरेरै दोस्रोपटक महाधिवेशनको मिति तय गरेको हो । अझै आठ महिना समय रहेकाले निर्धारित मितिमै महाधिवेशन हुने विश्वास लिएको छु । अहिलेसम्म महाधिवेशनको क्यालेण्डर अनुसार नै काम भइरहेको छ’, उनले भने ।
जहाँसम्म संस्थापक सभापति लामिछानेविना महाधिवेशन हुन्छ कि हुँदैन भन्ने विषयमा निष्कर्षमा पुग्न बाँकी रहेको झाले बताए । सबैसँग सरसल्लाह गरेरै एउटा विकल्पमा पुग्न सकिने उनको भनाइ छ ।
लामिछानेकै ब्राण्डमा रास्वपा जन्मिएकाले उनीविना महाधिवेशन हुनेमा आशंका जन्मिएको छ । निर्वाचन आयोगमा दल दर्ता भएको पाँच वर्षभित्र महाधिवेशन गर्नुपर्ने संवैधानिक बाध्यता छ । त्यसकारण २०८४ को असारभित्र रास्वपाले महाधिवेशन गर्नुपर्ने हुन्छ ।
त्यतिवेलासम्म लामिछानेले मुद्दाबाट सफाइ पाएमा उनकै नेतृत्वमा महाधिवेशन हुने देखिन्छ । अन्यथा रविको अनुपस्थितिमा महाधिवेशन गर्नुपर्ने अवस्था आउन सक्छ । गत वर्ष कात्तिकमा सहकारी ठगी आरोपमा पक्राउ परेपछि लामिछानेको सांसद पद निलम्बनमा परेको छ ।
१० वर्ष लामो सञ्चारकर्म छाडेर लामिछानेले २०७९ साल असार ७ गते रास्वपा गठन गरेका थिए । पार्टी गठन गरेको पाँच महिनामै आम निर्वाचनमा होमिएको रास्वपाले कुल ११ लाख ३० हजार मतसहित प्रतिनिधि सभाको २१ सिट जितेको थियो।

