एएफसी एसियाकप छनोटमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ। उज्वेकिस्तान भने २२ वर्षपछि एसियाकपमा छनोट हुन सफल भयो। निर्धारित समय ३–३ गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटमा धकेलिएको खेलमा नेपाल ४–२ ले स्तब्ध भएको हो।
पहिलो हाफमा ३–१ ले पछि परेको अवस्थामा नेपालले सानदार पुनरागमन गर्दै खेललाई दोस्रो हाफमा ३–३ को अवस्थामा ल्याएको थियो।
निर्धारित समय ३–३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिन पुगेको थियो जहाँ घरेलु टोली उज्वेकिस्तानले बाजी मार्न सफल भयो।
पेनाल्टी सुटआउटमा उज्वेकिस्तान सबै चार खेलाडीले गोल गर्दा अन्तिम प्रहार गर्नु परेन। नेपालक लागि भने सावित्राको पहिलो प्रहार पोलमा लागेर फर्किएको थियो। दोस्रो प्रहार गीता रानाले गोलमा परिणत गर्दा सविता राना मगरले पनि गोल गर्न सफल भइन्। चौथो प्रहारका लागि आएकी गोलरक्षक अञ्जना राना मगरको प्रहार गोलरक्षकले बचाएपछि नेपाल पराजित हुन पुग्यो।
त्यसअघि घरेलु टोली उज्वेकिस्तानले पहिलो हाफमै ३–१ को अग्रता बनाएको थियो। तर पहिलो हाफको इन्जुरी समयमा घरेलु टोली उज्वेकिस्तान १० खेलाडीमा समेटियो।
पहिलो हाफमा उज्वेकिस्तानका लागि खाबीबुलेएभा र मातफुना सोयीमोभाले एक–एक गोल गर्दा अर्को एक गोल समीक्षा घिमिरेको आत्मघाती गोलका रुपमा उपहार पाएको थियो। नेपालको लागि साबित्रा भण्डारी ९साम्बा० ले एक गोल गरिन्।
खेलको दोस्रो मिनेटमा नै घरेलु टोली उज्वेकिस्तानले अग्रता बनायो। फेरुजा टुर्डिबोएभाको सटलाई डिफेन्डर गीता रानाले हेड गरेको बललाई अनमार्क रहेकी खाबीबुलेएभाले सहज रुपमा गोल गर्दै अग्रता दिलाइन्। पहिलो गोल खाएर सम्हालिन नपाउँदै नेपालले १२ औं मिनेटमा दोस्रो गोल खान पुग्यो।
उज्वेकिस्तानकी कप्तान लिउडमिला कराचिकको क्रस गोल लाइन नजिकै रहेकी नेपालकी समिक्षा घिमिरेको खुट्टामा लागेर गोलमा परिणत हुन पुगेको थियो।
त्यसपछि खेलमा समालिएको नेपालले २४ औं मिनेटमा एक गोल फर्कायो। कप्तान साम्बाले उज्वेकिस्तानकी किपर मातफुनाले क्लियर गर्न नसकेको बलमा रश्मी कुमारी घिसिङले दिएको हेड पासलाई रिब २५ यार्डबाट हानेको लेफ्ट फुटेट सटले जाली चुमेको थियो।
तर, खेलको ३७ औं मिनेटमा सरस्वती हमालको ह्यान्ड भएपछि उज्वेकिस्तानले पेनाल्टीको अबसर पायो जसलाई मातफुना सोयीमोभाले गोल गरिन्। पहिलो हाफको इन्जुरी समयमा उज्वेकिस्तान १० खेलाडीमा समेटियो। साम्बालाई ट्याकल गरेपछि उज्बेकिस्तानकी एन एर्गासेभा दोहोरो पहेंलो कार्डसहित रातो कार्ड खाँदै मैदान बाहिरिइन्।
त्यसपछि दोस्रो हाफमा नेपालले उत्कृष्ट पुनरागमन गर्दै खेल बराबरीमा ल्यायो। नेपालका लागि सबै तीन गोल सावित्रा भण्डारीले गर्न सफल भइन्। ७१ औं मिनेटमा सावित्रा भण्डारीले दोस्रो गोल गर्दा २ मिनेट पछिनै उनले ह्याट्रिक पुरा गर्दै खेल बराबरीमा ल्याउन सफल भइन्। तर त्यसपछि थप गोल हुन नसक्दा खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो जहाँ पेनाल्टी सुटआउटमा नेपाल स्तब्ध बन्यो।

