गलकोट नगरपालिका वडा नं. ११ रिघामा धर्म पोखरी युवा समाजले आयोजना गरेको तीज मेला–२०८२ सम्पन्न भएको छ ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य जित शेरचनले सम्बोधन गर्दै गलकोट क्षेत्रमा विकासका योजना ल्याउन आफूले निरन्तर पहल गरिरहेको बताउनुभयो । उहाँले क्लबहरूले खेलकुदका मात्र कार्यक्रम सञ्चालन नगरी विकासका कार्यमा समेत अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा गलकोट नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष पवन हमाल, वडा नं. ११ का वडा अध्यक्ष डम्मर बहादुर श्रीस, महिला सञ्जाल वडा नं. ११ की सदस्य लक्ष्मी श्रीसलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।
मेलाको अवसरमा विभिन्न खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो । खुल्ला पुरुष फुटबलमा न्यू स्पोर्ट युवा क्लब वडा नं. ११ अमर्छा प्रथम र धर्म पोखरी युवा समाज द्धितीय भए । महिला भलिबलमा धर्म पोखरी युवा समाज ‘बि’ प्रथम र शिखर युवा क्लब सानो रिघा द्धितीय भए । महिला रस्साकस्सीमा प्रगतिशिल आमा समूह ‘ए’ प्रथम र ‘बि’ द्धितीय भए ।महिला फुटबलमा आयोजक धर्म पोखरी युवा समाज प्रथम र प्रगतिशिल आमा समूह द्धितीय भए ।
यसै अवसरमा रत्नलक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापक तुल बहादुर श्रीस र क्लबका सल्लाहकार टकाराम श्रीसले प्रदेश सभा सदस्य शेरचनलाई मागपत्र हस्तान्तरण गर्नुभएको थियो ।कार्यक्रम समाजका अध्यक्ष सुमन घर्तीको अध्यक्षता, क्लबका सल्लाहकार मनोज पुनको स्वागत तथा सदस्य नारायण पौडेल र साजन बस्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।

