नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ। समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार २०८२ सालको भाइटीका कात्तिक ६ गते बिहीबार बिहान ११ बजेर ३९ मिनेटमा लगाउने उत्तम साइत रहेको छ।
ढकालका अनुसार यस वर्षको यमपञ्चक कात्तिक १ गते शनिबारदेखि सुरु हुनेछ। सो दिनदेखि यमदीप दान सुरु हुने र त्यसै दिन धन त्रयोदशी (धनतेरस) पर्व पनि परेको समितिले जनाएको छ।
कात्तिक २ गते आइतबार काग तिहार तथा धनवन्तरी जयन्ती,
कात्तिक ३ गते सोमबार नरक चतुर्दशी, कुकुर तिहार र साँझ लक्ष्मीपूजा,
कात्तिक ४ गते मङ्गलबार बिहान स्नान–दान र दिउँसोसम्म औंशी तिथि रहनेछ।
त्यसपछि कात्तिक ५ गते बुधबार गाई तिहार तथा गोवर्धन पूजा (गोरू तिहार) मनाइनेछ।
शास्त्रीय परम्परा अनुसार भाइपूजा तथा नेवारी समुदायको किजा पूजा पनि यही कात्तिक ६ गते बिहीबार मनाइने समितिले जनाएको छ।
नेपालभर भाइबहिनीबीचको स्नेह र आशिर्वादको प्रतीकका रूपमा मनाइने यो पर्वका लागि समितिले उक्त साइतालाई सबैभन्दा शुभ मानेको हो।

