गल्कोट नगरपालिका–१० पाण्डवखानीस्थित श्री पाण्डवखानी माध्यमिक विद्यालयका वरिष्ठ शिक्षक गिरी थापा औपचारिक रूपमा सेवा अवकासको चरणमा प्रवेश गर्नुभएको छ। लामो समयसम्म एउटै विद्यालयमा समर्पित भएर शिक्षण पेसामा संलग्न थापा स्थानीय स्तरमा शिक्षा, संस्कार र सामाजिक चेतनाको विकासमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्तित्वका रूपमा चिनिनुहुन्छ।
शिक्षक थापाले आफ्नो सेवाकालको अधिकांश समय श्री पाण्डवखानी माध्यमिक विद्यालयमै बिताउँदै हजारौँ विद्यार्थीलाई ज्ञान, अनुशासन र नैतिक मूल्यका पाठहरू प्रदान गर्नुभयो। उहाँको शिक्षण कक्षा कोठामा सीमित नरही विद्यार्थीको जीवन व्यवहार, सोच र सामाजिक जिम्मेवारी निर्माणतर्फ केन्द्रित रह्यो। थापाबाट अध्ययन गरेका धेरै विद्यार्थी आज शिक्षक, कर्मचारी, डाक्टर, इन्जिनियर, पत्रकार तथा विभिन्न पेशागत क्षेत्रमा स्थापित भई समाज र राष्ट्रको सेवामा सक्रिय छन्।
शिक्षासँगै थापाले स्थानीय भाषा, संस्कृति, परम्परा र सामाजिक पहिचान संरक्षणमा समेत योगदान पुर्याउनुभएको छ। आधुनिक शिक्षासँगै मौलिक संस्कारको महत्वबारे विद्यार्थीलाई सचेत गराउँदै उहाँले विद्यालयलाई केवल अध्ययन केन्द्र नभई संस्कार निर्माणको थलोका रूपमा विकास गर्न भूमिका खेल्नुभयो।
श्री पाण्डवखानी माध्यमिक विद्यालयको शैक्षिक उन्नति, अनुशासन र सामाजिक विश्वास निर्माणमा शिक्षक थापाको योगदान उल्लेखनीय मानिन्छ। कुनै प्रचारप्रति आकर्षित नहुँदै निरन्तर कर्म र जिम्मेवारीमा विश्वास गर्दै अघि बढ्नु उहाँको शिक्षकीय विशेषता रहेको विद्यालय परिवारको भनाइ छ।
सेवा अवकासको अवसरमा विद्यालय परिवार, अभिभावक, विद्यार्थी तथा स्थानीय समुदायले गिरी थापाप्रति सम्मान र कृतज्ञता व्यक्त गरेका छन्। सेवा अवकासपछि पनि उहाँको अनुभव, सिकाइ र योगदान समाजका लागि प्रेरणाको स्रोत रहने विश्वास व्यक्त गरिएको छ।
शिक्षा क्षेत्रमा लामो समयसम्म पुर्याएको योगदानको कदर गर्दै गल्कोट नगरपालिका–१० पाण्डवखानीका शिक्षक गिरी थापाको सेवा अवकास जीवन सु–स्वास्थ्य, शान्ति र आत्मसन्तोषले भरिपूर्ण रहोस् भन्ने कामना गरिएको छ।
लेखक : पत्रकार सुरेश छन्त्याल
🗓️ २०८२ माघ १८ आईतवार 🕝१०: ५२ बिहान

