बागलुङको पाण्डबखानी क्षेत्रमा सञ्चालनमा रहेका घोप्टे खोला लघु जलविद्युत आयोजनामा रहेका पुराना सामग्रीहरू फेरेर नयाँ जडान गर्ने काम सुरु गरिएको छ। यसका कारण करिब १७५ घरधुरी केही दिनसम्म पूर्ण रूपमा अन्धकारमा बस्नुपर्ने अवस्था सिर्जना भएको छ। साथै, सोही विद्युतबाट सञ्चालन भइरहेको नेपाल टेलिकमको टावर समेत अवरुद्ध हुने जानकारी प्राप्त भएको छ। आयोजनाको प्रसारण लाइन करिब २३ किलोमिटर रहेको छ।
त्यसैगरी, माउखोला लघु जलविद्युत आयोजनाको क्षमता कम हुँदा विद्युत आपूर्ति कमजोर बनेको छ। १० किलोवाट क्षमता रहेको उक्त आयोजनाबाट २३५ घरधुरीले विद्युत प्रयोग गर्दै आएका छन्। तर, पर्याप्त पावर नआउँदा स्थानीयवासीहरू खाना पकाउन, मोबाइल चार्ज गर्न तथा बत्ती बाल्न समेत समस्या झेलिरहेका छन्।
पाण्डबखानी क्षेत्रमा केही घरधुरीले मात्र केन्द्रीय विद्युत लाइन जडान गरेका भए पनि उक्त लाइनमा पनि बारम्बार आउने-जाने समस्या (ट्रिपिङ) देखिएको छ। यसले दैनिक जीवनका कामकाजसँगै विद्यार्थीहरूको पढाइमा समेत असर पुर्याएको छ।
विशेषगरी SEE परीक्षाको तयारीमा रहेका विद्यार्थीहरू यस समस्याबाट बढी प्रभावित भएका छन्। स्थानीय विद्यार्थी शिखा घर्तीका अनुसार, “पहिला गाउँमा बिजुली नहुँदा दाजुदिदीहरूले टुकी र क्यान्डिल बालेर पढ्नुहुन्थ्यो, अहिले फेरि त्यही अवस्था सम्झिनु परेको छ।”

