दरमखोला हाइड्रो परियोजनाबाट उत्पादन भएको विद्युत अब ताराखोला, गलकोट, बडिगाड र ढोरपाटन क्षेत्रसम्म विस्तार गरिएको छ।
विद्युत सेवा पुगेपछि स्थानीयवासीको दैनिक जीवनमा सहजता आएको छ भने विकासका सम्भावनाहरू समेत बढेका छन्। दरमखोला हाइड्रोपावर, मनेवाबाट उत्पादन भएको विद्युत हाल ताराखोला गाउँपालिका, गलकोट नगरपालिका, बडिगाड गाउँपालिका र ढोरपाटन क्षेत्रमा नियमित रूपमा आपूर्ति हुन थालेको छ। लामो समयदेखि अन्धकारमा रहेका कतिपय बस्तीहरूमा पहिलो पटक विद्युत सेवा पुगेपछि स्थानीयवासी उत्साहित भएका छन्।
विद्युत विस्तारसँगै घरायसी कामकाज, साना उद्योग सञ्चालन, सूचना प्रविधिको पहुँच तथा शैक्षिक गतिविधिमा समेत सकारात्मक प्रभाव परेको स्थानीयको भनाइ छ। यसअघि वैकल्पिक ऊर्जामा निर्भर रहनुपरेका बासिन्दाहरू अब स्थायी विद्युत सेवाबाट लाभान्वित भएका छन्। स्थानीय तहका प्रतिनिधिहरूका अनुसार विद्युत सेवा विस्तारले पर्यटन, कृषि तथा साना उद्यम व्यवसाय प्रवर्द्धनमा टेवा पुग्ने विश्वास गरिएको छ। उनीहरूले अझै बाँकी रहेका ग्रामिण बस्तीहरूमा समेत विद्युत विस्तार गर्ने योजना रहेको बताएका छन्। यद्यपि केही स्थानमा भोल्टेज समस्या तथा लाइन विस्तारसम्बन्धी चुनौतीहरू अझै बाँकी रहेको सरोकारवालाहरूले स्वीकार गरेका छन्।सेवा गुणस्तर सुधार र नियमित आपूर्तिका लागि सम्बन्धित निकायले आवश्यक काम अघि बढाइरहेको जनाएको छ।

