चैत्राष्टमी मेला २०२६ का अवसरमा कुशल भलिबल खेलाडी भविन थापा र लोकप्रिय गायक सूर्य खड्का लाई जापान मा सम्मान गरिएको छ। बागलुङ मा जन्मिएर लोकदोहोरी संगीत र खेलकुद क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका उनीहरूलाई विशेष सम्मान प्रदान गरिएको हो।
गायक सूर्य खड्कालाई नेपाली लोकदोहोरी गीतमार्फत् नेपाली संस्कृति र संगीतलाई विश्वभर फैलाएको योगदानको कदरस्वरूप ‘बागलुङ रत्न’ सम्मान प्रदान गरिएको हो। जापानमा स्थापित चर्चित लोकदोहोरी गायक खड्काले आफ्ना दर्जनौं सिर्जनाबाट नेपाली संगीतलाई नयाँ उचाइमा पुर्याएका छन्। विशेषगरी विदेशमा रहेका नेपाली समुदायका भावना, पीडा र अनुभूतिहरूलाई गीतमार्फत् अभिव्यक्त गर्दै उनले सांगीतिक यात्रामा निरन्तर संघर्ष गर्दै आएका छन्।
सम्मान प्राप्त गरेपछि खड्काले आफू अत्यन्तै भावुक, खुसी र गौरवान्वित भएको प्रतिक्रिया दिएका छन्। उनले गीत–संगीतलाई केवल पेशा नभई जीवनको धड्कनका रूपमा लिएको उल्लेख गर्दै दर्शक–स्रोताको माया, समाजको विश्वास र अग्रजहरूको आशिर्वादले आफूलाई यहाँसम्म ल्याएको बताए। साथै, यो सम्मानले आगामी दिनमा अझ राम्रो काम गर्ने जिम्मेवारी थपिएको उनको भनाइ छ।
कार्यक्रममा बागलुङ समाजका अध्यक्ष गुरुप्रसाद सापकोटाले खड्काले जापानी समुदायमा नेपाली लोकगीत चिनाउन खेलेको भूमिका प्रशंसनीय रहेको बताए। उनले नेपाली संस्कृति र पहिचानलाई मजबुत बनाउन खड्काको योगदान असाधारण रहेको उल्लेख गरे।
त्यसैगरी गलकोट नगरपालिका मा जन्मिएका अनुभवी भलिबल खेलाडी भविन थापालाई पनि सोही अवसरमा सम्मान गरिएको छ। अनुशासित र समर्पित खेलाडीका रूपमा परिचित थापाले नेपालको राष्ट्रिय खेल भलिबलको विकासमा महत्वपूर्ण योगदान दिएका छन्। जापानमा रहँदै उनले भलिबल खेलको स्तर उकास्नुका साथै खेलाडीहरूको शारीरिक तथा मानसिक अनुशासनबारे सचेतना फैलाएका छन्।
यसैबीच, बागलुङ समाजले आफ्नो चौथो रनिङ कप पुरुष भलिबल प्रतियोगिता–२०२६ सफलतापूर्वक सम्पन्न गरेको छ। मार्च ४ मा तोडा स्पोर्ट्स सेन्टरमा सम्पन्न प्रतियोगितामा घुम्टे युवा परिवार जापान विजेता बनेको छ भने पिरो स्पोर्ट्स क्लब उपविजेता भएको छ।
खेलकुद संयोजक बसन्त थापाले प्रतियोगिताले जापानमा नेपाली भलिबलको स्तर वृद्धि र लोकप्रियता बढाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन्। उनले यस्ता प्रतियोगिताले युवा खेलाडीहरूलाई प्रोत्साहन दिने बताए।

