बागलुङ – बागलुङको बडिगाड गाउँपालिका–८ की २४ वर्षीया भेषकुमारी पाइजाले प्रसूतिको मितिमा ढिलाइ भएपछि अन्ततः सुरक्षित रूपमा बच्चा जन्म दिन सफल भएकी छिन्।
असार २४ गते डेलिभरी हुने भनिए पनि सो दिनसम्म प्रसूति नहुँदा परिवारले उनलाई बुर्तिबाङ अस्पतालमा पुर्याएका थिए। अस्पतालले भिडियो एक्स–रे गरेर अझै एक हप्ता समय बाँकी रहेको जानकारी दिएको थियो। त्यसपछि उनलाई अस्पतालमै १० दिन राखिएको परिवारले जनाएको छ।
तर त्यहाँ पनि डेलिभरी नभएपछि परिवारले उनलाई गल्कोट नगर अस्पताल लगेका थिए। असार २४ गते गल्कोट अस्पतालमा गरिएको अर्को भिडियो एक्स–रेमा गर्भावस्थाको ३८ हप्ता पुगेको देखाएपछि उनलाई आराम गर्न सुझाव दिइएको थियो।
भेषकुमारी आरामका लागि हटिया बजारमा बसेकी थिइन्। त्यसपछि साउन १२ गते अस्पताल पुगेकी उनी साउन १३ गते बिहान ५:४० बजे सुरक्षित रूपमा बच्चा जन्म दिन सफल भएकी छिन्। बच्चा र सुत्केरी आमा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

