पर्वत/ जिल्लाको मोदी गाउँपालिका–४ क्याङमा शनिबार माथिबाट खसेको पहिरोमा परेर एक बोलेरो जिप पुरिएको छ । जिपमा सवार यात्रुहरू पहिल्यै झरेकाले मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।
जनै पूर्णिमाको दिन लेसपार गाउँस्थित हस्रधारामा रहेको बराह मन्दिरमा पुगेर फर्किने क्रममा जीप पहिरोमा परेको हो । श्रद्धालुहरू पूजाआजाका लागि बराह पुग्ने गर्छन । पूजा सकेर सदरमुकाम कुस्मा फर्कने यात्रुहरू बोकेर ल्याएको ध.क.ज ५५८ नम्बरको बोलेरो जिप पहिरोले पुरेको हो। जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक रामप्रसाद सापकोटाका अनुसार पहिल्यै अलिअलि खसेको पहिरोको कारण सडक हिलाम्मे बनेको र उक्त हिलोमा जिप फँसेको थियो । जिप फँसेपछि चालकसहित सबै यात्रु बाहिर निस्केर गाडी निकाल्ने प्रयास गरिरहेका बेला माथिबाट ठूलो पहिरो खसेको थियो ।

