गलकोट, १४ मंसिर २०८२
गलकोट नगरपालिकाको चालु आर्थिक वर्ष २०८२/०८३ को प्रथम चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम आइतबार सम्पन्न भएको छ। नगर कार्यपालिकाको कार्यालय र वडा नं. ४ वडा कार्यालयको संयुक्त आयोजना तथा सामुदायिक रेडियो गलकोटको सहजीकरणमा कार्यक्रम सम्पन्न गरिएको हो।
कार्यक्रममा सहभागी स्थानीयवासीहरूले पशु सेवा शाखाबाट लिइने शुल्क, भैँसी पकेट कार्यक्रमको प्रक्रिया, मध्यपहाडी राजमार्गमा टिप्परमार्फत फालिएको माटो, कृषि उपजको बजार, विद्यालयमा विद्यार्थी कमी, सवारी साधनमा विभेद, १ घर–१ धारा कार्यक्रम, फोहोर व्यवस्थापन, कर प्रणाली, स्वास्थ्य सेवामा शववाहन शुल्क, अवैध करेन्ट लगाएर माछा मार्ने समस्या, कृषि–रोजगार नीति, श्रमिक ज्याला, विद्युत आयोजनाका कारण सिँचाइमा परेको असर, नगरबस व्यवस्थापन, बालमैत्री नगरपालिका, वृद्ध नागरिक यातायात छुट लगायतका विषयमा प्रश्न–जिज्ञासा राखेका थिए।
यी सबै प्रश्नहरूको उत्तर तथा स्पष्टीकरण नगर प्रमुख भरत शर्मा गैरे, उपप्रमुख फमलाल निउरे, प्रमुख प्रशासकीय अधिकृत डम्मर बहादुर जिसी, शिक्षा अधिकृत शिव खड्का, कृषि शाखा प्रमुख संगिता श्रीस, पशु शाखा प्रमुख चिन्तामणि शर्मालगायतका अधिकारीहरूले प्रस्तुत गरेका थिए।
त्यस अवसरमा नगर प्रमुख र उपप्रमुखले उठाइएका मुद्दा समाधानमा आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रमको टिप्पणी सत्र नेपाल पत्रकार महासंघ बागलुङका सदस्य तथा कान्तिपुर दैनिकका उप–सम्पादक प्रकाश बरालले प्रस्तुत गरेका थिए भने सवाल–जवाफ खण्डको सहजीकरण विजय रानाले गरेका थिए।
अन्त्यमा चालु आर्थिक वर्षको प्रथम चौमासिक प्रतिवेदन प्रमुख प्रशासकीय अधिकृत डम्मर बहादुर जिसीले सार्वजनिक गरेका थिए।
कार्यक्रम वडाध्यक्ष बलबहादुर खत्रीको अध्यक्षता, शिक्षा अधिकृत शिव खड्काको स्वागत र सामुदायिक रेडियो गलकोटका स्टेसन प्रमुख शर्मिला रोका मगरको संचालनमा सम्पन्न भएको थियो

