बागलुङ। बागलुङ नगरपालिका–४ कुँडुलेमा पिकअप जिपको ठक्करबाट एक बालकको मृत्यु भएको छ।
सडक क्रस गरिरहेका क्रममा ध १ च १३३६ नम्बरको पिकअप जिपले ठक्कर दिँदा गम्भीर घाइते भएका काठेखोला गाउँपालिका–१ धैरेनी निवासी शिवप्रसाद शर्माका ५ वर्षीय छोरा सूर्य ढुङ्गानाको उपचारका क्रममा धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा मृत्यु भएको हो।
उक्त पिकअप जिप पर्वत जिल्लाको जलजला गाउँपालिका–८ निवासी २५ वर्षीय सुनिल नेपालीले चलाएका थिए। दुर्घटनापछि चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख तिलक भारतीले जानकारी दिनुभयो।
प्रहरीका अनुसार दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।

