बागलुङ, पौष १० ।
बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा शुक्रबारदेखि सुरु हुने ८औँ बागलुङ महोत्सव २०८२ को सम्पूर्ण तयारी पूरा भएको छ । बागलुङ नगरपालिका–१ स्थित रामरेखा क्षेत्रको बाङ्गेचौर खेल मैदानमा महोत्सव आयोजना हुन लागेको हो ।
महोत्सवलाई आकर्षक र व्यवस्थित बनाउन रचनात्मक ढंगले काम गरिएको आयोजकले जनाएको छ । महोत्सवमा २०० भन्दा बढी स्टलहरू बुक भइसकेका छन् । कृषि, घरेलु तथा स्थानीय उत्पादनलाई विशेष प्राथमिकता दिइएको छ भने कृषकहरूका लागि निःशुल्क स्टलको व्यवस्था गरिएको छ ।
महोत्सव अवधिभर पुरुष तथा महिला भलिबल प्रतियोगिता समेत आयोजना गरिनेछ । पुरुषतर्फ गण्डकी प्रदेशअन्तर्गतका पालिकास्तरीय टिमहरूबीच प्रतिस्पर्धा हुनेछ । हालसम्म १० टिमले दर्ता गरिसकेको खेल संयोजक प्रकाश थापाले जानकारी दिनुभयो । त्यस्तै, महिला भलिबलतर्फ हुने गण्डकी प्रदेशस्तरीय प्रतियोगितामा ७ टिम सहभागी हुने जनाइएको छ ।
महोत्सवको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले गर्नुहुनेछ । साथै, महोत्सवमा टिकटक च्यालेन्ज, हेलिकप्टरबाट दृश्यावलोकन, कथा वाचन प्रतियोगिता लगायतका नवप्रवर्दनात्मक कार्यक्रमहरू पनि समावेश गरिएको संघका पूर्वअध्यक्ष नरेश कँडेलले जानकारी दिनुभयो ।
आयोजकका अनुसार महोत्सवले स्थानीय उत्पादनको प्रवर्द्धन, पर्यटन विकास र आर्थिक गतिविधि चलायमान बनाउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
🗓️ २०८२ माघ १८ आईतवार 🕝०४: ५६ मध्यान्ह

