गलकोट नगरपालिका वडा नं. १० पाण्डबखानीको रमुवा गाउँबाट हटिया बजारसम्म सञ्चालन हुने पिकअप गाडी सेवा अबदेखि नियमित रूपमा सञ्चालन हुने भएको छ।
वडा सदस्य कुमार पुनको संयोजकत्वमा बसेको गाउँ भेलाले उक्त निर्णय गरेको हो। निर्णयअनुसार रमुवामा रहेका चार वटा पिकअप गाडीहरू यात्रु संख्या अनुसार सञ्चालन हुनेछन्। यात्रु पर्याप्त भए चारवटै गाडी छुट्नेछन् भने यात्रु कम भए कम्तीमा एउटा गाडी नियमित रूपमा सञ्चालन गरिनेछ। साथै, प्रत्येक गाडी छुट्दा रु. २०० गाउँ कोषमा जम्मा गर्ने व्यवस्था मिलाइएको छ।
यसअघि रमुवा–हटिया रुटमा रु. ८०० भाडा लाग्ने गरेकोमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै हाललाई रु. १००० कायम गरिएको छ। तेलको मूल्य घटेसँगै भाडा पुनः समायोजन गरिने निर्णय गरिएको छ।
यता स्थानीय बासिन्दाहरू भने भाडा वृद्धि र सडकको जिर्ण अवस्थाप्रति असन्तुष्ट देखिएका छन्। उनीहरूले भाडा दर घटाउन र सडक मर्मत गर्न माग गर्दै करिब ७०–८० जनाको हस्ताक्षरसहित निवेदन स्थानीय सरकारसमक्ष पेश गरेका छन्। तर, हालसम्म कुनै ठोस प्रतिक्रिया नआएको गुनासो गरेका छन्।
विशेषगरी मल्म–पाण्डबखानी–रमुवा जोड्ने मोटरबाटोको अवस्था निकै खराब रहेको स्थानीयको भनाइ छ। पालिकाबाट पाण्डबखानीसम्मको करिब १७ किलोमिटर दूरी पार गर्न ३ घण्टासम्म लाग्ने गरेको छ। सडक स्तरीकरण भएमा सो दूरी ४५ मिनेटमै पार गर्न सकिने उनीहरूको दाबी छ।
पाण्डबखानी क्षेत्र प्राकृतिक सौन्दर्य, संस्कृति र आतिथ्यताका लागि परिचित भए पनि कमजोर सडक पूर्वाधारका कारण पर्यटकहरू समेत समस्यामा पर्ने गरेका छन्। स्थानीयले सम्बन्धित निकायसँग सडक सुधारमा तत्काल पहल गर्न माग गरेका छन्।
