सूचना र प्रविधिको पहुँचबाट टाढा रहेको बागलुङ जिल्लाका दुर्गम गाउँहरूमा स्थानीय युवाहरूको सक्रियताका कारण डिजिटल सञ्चारको नयाँ ढोका खुलेको छ। जिल्लाकै विकट मानिने बडिगाड गाउँपालिका वडा नं. ८, रणसिंहकिटेनी र गलकोट नगरपालिका वडा नं. १०, पाण्डबखानीमा तीव्र गतिको इन्टरनेट सेवा विस्तार भएसँगै स्थानीय स्तरमा डिजिटल क्रान्ति सुरु भएको हो।
बडिगाडको रणसिंहकिटेनीमा स्थानीय युवा व्यवसायी रेशम बुढा मगरको एकल प्रयास र भियानेट (Vianet) सँगको सहकार्यमा इन्टरनेट जडान कार्य तीव्र रूपमा अगाडि बढेको छ। भौगोलिक विकटता र चुनौतीपूर्ण भुईँ-बनोटका बावजुद पनि हालसम्म ४० घरधुरीमा इन्टरनेट सेवा सफलतापूर्वक जडान भइसकेको सञ्चालक मगरले जानकारी दिएका छन्। गाउँलाई पूर्ण रूपमा सञ्चार नेटवर्कमा जोड्ने उद्देश्यका साथ सुरु भएको यस अभियान अन्तर्गत अब थप ५० घरधुरीमा इन्टरनेट जडान गर्न बाँकी रहेको र त्यसका लागि तीव्र गतिमा काम भइरहेको छ।
“विकट पहाडी भूगोलका कारण तार तथा आवश्यक उपकरणहरू पुर्याउन निकै सास्ती खेप्नुपरे तापनि स्थानीय बासिन्दालाई प्रविधिसँग जोड्न यो कदम चालिएको हो,” सञ्चालक मगरले बताए। गाउँमा इन्टरनेट पुगेसँगै स्थानीय विद्यालयका विद्यार्थीलाई डिजिटल सिकाइमा, अनलाइन व्यवसाय सञ्चालन गर्न, तथा देश-विदेशमा रहेका आफन्तहरूसँग सञ्चार सम्पर्क गर्न निकै सहज हुने विश्वास लिइएको छ। रणसिंहकिटेनी तथा आसपासका क्षेत्रमा इन्टरनेट जडान गर्न इच्छुक स्थानीयहरूले सिधै सञ्चालक रेशम बुढा मगरलाई ९८४०७५५९७८ मा सम्पर्क गर्न सक्नेछन्।
यसैगरी, गलकोट नगरपालिका वडा नं. १०, पाण्डबखानीमा पनि Vianet को विस्तार व्यापक रूपमा भएको छ। हाल पाण्डबखानीका प्रायः सबै घरधुरीमा Vianet जडान भइसकेको छ भने इन्टरनेट जोड्न बाँकी रहेका अन्य ग्राहकहरूबाट समेत माग अत्यधिक बढेको छ।स्थानीय सञ्चालक दिप घर्तीका अनुसार ग्राहकहरूको रुचि र माग बढे तापनि सीमित स्रोतसाधनका कारण तत्कालै सबैलाई सेवा उपलब्ध गराउन केही चुनौतीपूर्ण बनेको छ। यद्यपि, मागलाई सम्बोधन गर्दै सेवालाई थप विस्तार र गुणस्तरीय बनाउने कार्य भइरहेको सञ्चालक घर्तीले जानकारी दिए। भौगोलिक रूपमा दुर्गम मानिएका यी क्षेत्रहरूलाई डिजिटल नक्सामा समेट्ने र गाउँलेलाई प्रविधिसँग जोड्ने यो उदाहरणीय कार्यको यतिबेला स्थानीय स्तरमा चौतर्फी प्रशंसा भइरहेको छ।
