निसीखोला गाउँपालिका अध्यक्ष लागुऔषध गाजा मुद्वामा दोषी ठहर हुनुभएको छ ।
गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीलाई लागुऔषध गाँजाचरेस (लागूऔषध नियन्त्रण ऐन, २०२३) अन्तर्गत ३ तीन वर्ष छ महिना कैद फैसला भएको छ ।
गाउँपालिका अध्यक्ष घर्ती जिल्ला अदालत बागलुङको २०७९ पुस ३ गतेको फैसला चित्त नबुझेर ०८० जेठ ३ गते उच्च अदालत पोखरा, बागलुङ इजलाशमा पुनरावेदन गर्नुभएको थियो ।
उच्च अदालत पोखरा, बागलुङ इजलाशको आइतबारको फैसलाले जिल्ला अदालत बागलुङकै फैसलालाई सदर गर्दै गाउँपालिका अध्यक्ष घर्तीलाई कैदसँगै ५० हजार रुपैयाँ जरिवाना फैसला गरेको अदालतका सूचना अधिकारी शिवप्रसाद गौतमले जानकारी दिनुभयो ।
हाल गाउँपालिका अध्यक्ष रहेका रहेका घर्ती निसीखोला ६ को वडाध्यक्ष हुँदा २०७७ असार १२ गते ८० केजी गाँजासहित आफ्नै घरबाट पक्राउ पर्नु भएको थियो ।
इलाका प्रहरी कार्यालय बुर्तिबाङका तत्कालिन प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीको नेतृत्वमा खटिएको टोलीले घर्तीलाई उहाँकै घरबाटै पक्राउ गरेको थियो । बुर्तिबाङ बजारमा गाँजा खाने युवालाई समात्ने क्रममा ‘सप्लाइ’ गर्ने व्यक्तिको खोजी गर्दै जाँदा प्रहरी घर्तीसम्म पुगेको थियो । घर्ती नेपाली काँग्रेसबाट निसीखोला गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
फैसलाको पूर्ण पाठ आउन बाँकी छ ।