बागलुङ-
मेडिकल व्यवसायी दुर्गा प्रसाईंको आव्हानमा बिहीबार काठमाडौंको बल्खु क्षेत्रमा भएको प्रदर्शनमा झडप हुँदा १४ जना घाइते भएका छन् ।
प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप हुँदा दुवै पक्षका गरी १४ जना घाइते भएको राष्ट्रिय मानव अधिकार आयोगका सहसचिव डाक्टर टिकाराम पोखरेलले जानकारी दिए।
उनका अनुसार घाइतेहरूको पुरा विवरण भने आइसकेको छैन। प्रसाईं र युवा संघ दुवै पक्षको प्रदर्शनमा स्थलगत अनुगमन गरेको आयोगको टोलीले युवा संघले तीनकुनेमा गरेको प्रदर्शन शान्तिपूर्ण रुपमा सकिए पनि बल्खुमा प्रसाईं पक्षले गरेको प्रदर्शनमा तनावपूर्ण स्थिति निम्तिएको सहसचिव पोखरेलले बताए। प्रदर्शनका कारण पठनपाठन अवरुद्ध रहेको, प्रदर्शन भएका क्षेत्रका पसलहरू बन्द हुँदा निर्वाध रुपमा पेशा व्यवसाय गर्ने अधिकारमा असर परेको आयोगको निष्कर्ष छ। सर्वसाधारणले पनि स्वतन्त्र र सुरक्षित रुपमा आवतजावत गर्न नपाएकाले आयोगले प्रदर्शनरत पक्षलाई शान्तिपूर्ण र संयमित रुपमा प्रदर्शन गर्न आयोगले आग्रह गरेको छ।
आयोगले प्रदर्शनले पठनपाठन र आवतजावत प्रभावित भएपछि प्रदर्शनलाई नै शान्तिपूर्ण र संयमित बनाउन भनेको छ । प्रदर्शनमा शान्ति सुरक्षाको व्यवस्था थप प्रभावकारी समेत बनाउनुपर्ने देखिएको आयोगका सहसचिव पोखरेलले बताए।
प्रदर्शनका क्रममा बिहीबार बल्खु क्षेत्रमा युवा संघ र प्रसाईंका समर्थकहरुबीच झडप भएको थियो। कालीमाटी हुँदै प्रदर्शनका लागि तोकिएको क्षेत्र तीनकुने आउँदै गर्दा युवा संघको मोटरसाइकल र्यालीमा प्रसाईका समर्थकले ढुंगामुढा गरेपछि दुइतर्फी ढुंगामुढा भएको थियो ।
प्रहरीले हस्तक्षेप गरी स्थिति नियन्त्रणमा लिएपछि प्रसाईं समर्थक र सुरक्षाकर्मीबीच नै पुनः झडप भएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले पानीको फोहरा सँगै अश्रुग्याससमेत प्रहार गरेको थियो ।
आयोगले पनि बल्खु क्षेत्रमा झडप हुँदा ढुंगा‚ इट्टा प्रहार भएको तथा प्रसाईं पक्षको समूहले प्रहरीको सुरक्षा घेरा तोडेर कालीमाटीतर्फ जान खोग्दा प्रहरीसँग झडप भएको स्पष्ट पारेको छ। झडपका क्रममा केही मोटरसाइकल र स्कुटरमा सामान्य क्षति पुगेको आयोगले जनाएको छ ।