गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शिक्षाको गुणस्तर सुधार्न विद्यालय क्षेत्रलाई वर्गीकरण गर्ने नीति ल्याएको बताउनुभएको छ । त्यसका लागि विद्यार्थीको शिक्षा र स्वास्थ्यलाई समेत ध्यान दिने उहाँले बताउनुभयो।
गलकोट नगरपालिका वडा नम्वर १० को पाण्डवखानी माविको हिरक महोत्सव तथा ६२ औं वार्षिकोत्सव उद्घाटन गर्दै उहाँले आगामी शैक्षिक वर्षदेखिनै नमुनाको काम सुरु भइसकेको बताउनुभयो ।
‘ठूला विद्यालयलाई ’लिड’ विद्यालयको रुपमा विकास गर्ने, छरिएको बस्तीमा रेसिडेन्सियल विद्यालय बनाउने योजना छ,’ पाण्डेले भन्नुभयो, ‘दुरदराजको विद्यार्थीले पनि गुणस्तरीय शिक्षा पाउनु पर्छ ।’ उहाँले यो अभियानका लागि विद्यालयको वर्गीकरण गरेर पढाइ सञ्चालनका व्यवस्थापन सुरु भइसकेको समेत बताउनुभयो ।
गलकोट, बुर्तिवाङ जस्ता सहर उन्मुख क्षेत्रमा लिड विद्यालय बनाउने र ग्रामीण क्षेत्रमा आबासिय विद्यालय बनाएर धेरै विद्यार्थीले बसेर पढ्ने अबसर सिर्जना गर्न प्रदेश सरकार तयार रहेको उहाँले बताउनुभयो ।
सबै जिल्लामा देखिने गरी त्यस्ता प्रकारका विद्यालय बनाउने समेत उहाँले बताउनुभयो । पाण्डेले हरेक विद्यालयमा कम्तीमा एकजना नर्ससहितको व्यवस्था गर्ने पनि बताउनुभयो । नमुनाको रुपमा कतिपय जिल्लामा यस्ता काम सुरु भइसकेको समेत उहाँको भनाइ छ । बागलुङमा पनि ५ वटा विद्यालयमा यो अभियान सुरु भइसकेको हो ।
उहाँले पूर्वाधार तर्फ पनि बजेट छरिँदा विकासले गति लिन नसकेको बताउनुभयो । उहाँले बजेट नभएर काम ठप्प भएका सडकमा तत्काल काम सञ्चालनको बाटो खोल्ने उहाँले घोषणा गर्नुभयो । बागलुङमा मात्रै रणनीतिक सडक अर्न्तगत गलकोट पाण्डवखानी, सिगाना बरेङ लगायतका केही सडक अलपत्र छन् । ती सडक सञ्चालनमा ल्याउनले उहाँले प्रतिबद्धता जनाउनुभएको थियो ।
पाण्डवखानी माविले गाउँमै प्राविधिक शिक्षा सञ्चालन गर्न हिरक महोत्सवको अबसरमा आर्थिक संकलन समेत गरेको प्रअ नरबहादुर सुनारले बताउनुभयो । अभियान अर्न्तगत शनिबारसम्म ३ करोड १८ लाख रुपैयाँ संकलन भइसकेको हो ।
विद्यालयले पूर्व विद्यार्थी डा. शेरबहादुर पुनको नेतृत्वमा थालेको अभियान ८ करोड रुपैयाँ पु¥याउने लक्ष रहेको अध्यक्ष तिलक घर्तीले बताउनुभयो । विद्यालयले कृषि, भेटेनरी, डकर्मी र सिकर्मी जस्ता प्राविधिक उत्पादन गर्न लागेको हो ।
‘हामीले डाक्टर र नर्स बनाउने प्राविधिक हैन, गाउँमै अडिएर पनि रोजगारी पाउने प्राविधिक खोजेका हौं,’ घर्तीले भन्नुभयो, ‘यो अभियानलाई धेरै अभिभावक र पूर्व विद्यार्थीले सहयोगको आश्वासन दिइसकेका छन् ।’ उक्त अभियानका लागि विद्यालयको भौतिक पूर्वाधार समेत बनाउनुपर्ने भएपछि अभिभावकहरुले लाखौं लगानी गरेर कक्षा कोठा बनाइदिएका छन् ।
त्यस्तै कार्यक्रममा गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरे, नगर उपप्रमुख फमलाल निउरे, संविधान सभा सदस्य नर बहादुर पुन निरज, राष्ट्रिय जनमोर्चा गलकोट नगर अध्यक्ष टंक बहादुर केसी, गलकोट माद्यमिक विद्यालयका प्रधानाध्यापक देवेन्द्र बहादुर खत्री, समाजसेवी मानसिंह छन्त्यालले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम पाण्डवखानी माद्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक घर्तीको अध्यक्षता र हिरक महोत्सवका संयोजक डाक्टर दिपक काउचाको स्वागत र प्रधानाध्यापक नविन सुनारको सञ्चालनमा सम्पन्न भएको थियो ।