जिल्लाको बडिगाड गाउँपालिका भवनकाे औपचारिक उद्घाटन भएको छ । केही समयअघि निर्माण सम्पन्न भएपनि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रशासकीय भवनको उद्घाटन गरेका हुन् ।
भवनको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले संघियताले गाउँ गाउँमा करोडौंका भौतिक पूर्वाधार निर्माण मात्र नभई विकास निर्माणको बजेटसमेत गाउँमा आएको बताए ।
‘हिजो जिल्लाबाट के योजना आउँछ भनेर कुर्ने अवस्था भएका गाउँमा आफ्नै नीति, कार्यक्रम र बजेटले विकास गर्न पाइएको छ’ उनले भने, ‘विकासले निरन्तर गति लिएको छ, अझै व्यवस्थित विकास गर्न आवस्यक छ ।’
बडिगाड गाउँपालिकाले आफ्नै प्रशासकीय भवन बनाएर काम गर्दा गाउँपालिकाबासीको समेत गर्व बढेको बताए । बडिगाड गाउँपालिका वडा नं. ५ ग्वालीचौरबासीले दिएको साँढे ९ रोपनी जमिनमा गाउँपालिका भवन बनेको हो ।
पालिका भवन भने ५ करोड १८ लाख ५४ हजार रुपैयाँमा ‘माउन्टेन कविन बिआए संयुक्त निर्माण कंपनी’ले भवन बनाएको हो । गत असार मसान्तमा सक्नुपर्ने भएपनि केही समय ढीला गरी भवन पुरा भएको थियो ।
सदरमुकामदेखि ७० किमी पश्चिमको यो गाउँपालिका जिल्लाकै ठूलो पालिका भवन बनेको हो । यसअघि १ लाख १० हजारबढी भाडा तिरेर भाडामा बस्दै आएको थियो ।
गाउँपालिकाले आफ्नै भवनमा बस्दा बर्षको १५ लाख रुपैयाँ घर भाडाको बचाउन सकेको अध्यक्ष गण्डकी थापाले बताए । ‘आफ्नै भवन भएपछि कार्यालय पनि व्यवस्थित बनाउन सकिने भयो, ‘व्यवस्थित विकासको योजना बनाएर अगाडि बढ्नेछौं थापाले भने ।
कार्यक्रममा गण्डकी प्रदेश आर्थिक मामिला मन्त्री जित प्रकाश आले, वन वातावरण उद्योग तथा पर्यटन मन्त्री दिपेन्द्र बहादुर थापा, गण्डकी प्रदेश उपसभामुख विना थापा, गण्डकी प्रदेश सभा सदस्य दोणर् कुमार कुवँर, जीत बहादुर शेरचन, दिलमाया पौवी, नेपाली कांग्रेस जिल्ला उपसभापति तारानाथ पौडेल, नेकपा एमाले जिल्ला अध्यक्ष हिरा बहादुर केसी, नेकपा माओवादी केन्द्र जिल्ला संयोजक राजिव घिमिरे, राष्ट्रिय जनमोर्चा जिल्ला सचिव भिमलाल पोख्रेल, समाजवादी जिल्ला उपसभापति वेद प्रसाद घिमिरेले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
त्यस्तै जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर बहादुर थापा, जिल्ला समन्वय समिति गुल्मीका प्रमुख डोर बहादुर खत्री, घोरब्जो गाउँपालिका मुस्ताङका प्रमुख मोहन सिंह लाल चन्द, गाउँपालिका महासंघ गण्डकी प्रदेश अध्यक्ष सिता अधिकारी लगायतले समेत शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
भवन उद्घाटनको अवसर पारेर गाउँपालिकाले भवन निर्माणका लागि जग्गा प्रदान गर्ने जग्गादाताहरुलाई सम्मान गरिएको थियो । कार्यक्रम गाउँपालिका अध्यक्ष गण्डकी थापाको अध्यक्षता, उपाध्यक्ष भिमसेन वनको स्वागत मन्तव्य र प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।