मंगलबार गलकोटमा मृत अवस्थामा फेला परेका युवाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
गलकोट नगरपालिका वडा नम्वर ९ वडागाउँका २४ वर्षीय नविन गौतम (नविन जैसी) माघ २३ गते मध्यपहाडी लोकमार्गको नालीमा मृत अवस्थामा फेला परेका थिए ।
उहाँको हत्या आरोपमा गुल्मीको मुसिकोट नगरपालिका वडा नम्वर १ स्थायी घर भई हाल गलकोटको एक रेष्टुरेण्टमा काम गर्दै आईरहेका २५ वर्षीय राजु भन्ने तेजेन्द्र महतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक मदन केसीले जानकारी दिनुभयो ।
मादक पदार्थ सेवन गरी एकआपसमा झगडा हुँदा जैसीलाई भिरबाट धकेलेको प्रारम्भिक अनुसन्धानमा खुलेको उहाँले बताउनुभयो । निज आरोपी महतलाई पक्राउ गरी जिल्ला अदालत बागलुङबाट म्याद थप गरी ज्यान सम्बन्धी कसुरमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।