गलकोट बहुमुखी क्याम्पसको आयोजनामा भोलीदेखि सञ्चालन हुने श्रीमद्भागवत शैक्षिक ज्ञान महायज्ञ २०८० को सम्पुर्ण तयारीहरु पुरा भएको छ । गलकोट बहुमुखी क्याम्पसको शैक्षिक गुणस्तर वृद्धि संगै भौतिक स्तरोन्नतीको लागि भोलिदेखी १३ गतेसम्म कमलनयन गौतमको प्रमुख वाचकत्वमा श्रीमद्भागवत शैक्षिक ज्ञान महायज्ञ २०८० को आयोजना गरीएको छ । भोलीबाट सञ्चालन हुने महायज्ञ भव्य रुपमा सम्पन्न गर्नको लागि महायज्ञ सञ्चालन हुने स्थल गलकोट माद्यमिक विद्यालयको प्राङ्गणमा निर्माण गरिएको मण्डप सजिसजाउ पार्ने, मञ्च निर्माण गर्ने, कार्यक्रम स्थल, गलकोट नगरपालिका ३ हटिया बजारमा ध्वजापटका टाँग्ने, सरसफाई गर्ने, गेटहरु निर्माण गर्ने, कलशहरु सजिसजाउ पार्ने, फुलमाला तयार गर्ने लगायतका कार्यहरु आज सम्पन्न भएको मुल समारोह समितिका संयोजक घनश्याम शर्माले जानकारी दिनुभयो ।
उक्त कार्यक्रमको भोली गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्ने गलकोट बहुमुखी क्याम्पसले जनाएको छ । भोली महायज्ञ उद्घाटन हुनुपुर्व विहान ८ बजेबाट कलश यात्रा गर्ने समेत जनाईएको छ । सो कार्यक्रममा सम्पुर्णलाई उपस्थित हुनको लागि आग्रह समेत गरिएको छ । त्यस्तै आज गलकोट नगरपालिका वडा नम्वर ३ हटिया बजारदेखि मध्यपहाडि लोकमार्गको गलकोट नगरपालिका वडा नम्वर ११ को रयले, गलकोट नगरपालिका वडा नम्वर ५ को हरिचौर, गलकोट नगरपालिका वडा नम्वर ४ को डाँडाखेत, ढलेपिपल हुँदै गलकोट नगरपालिका वडा नम्वर २ को नरेठाँटी सम्म गलकोटका यातायात व्यवसायीहरुले याली समेत सम्पन्न गरेका थिए ।

