थम्मन थापा(सन्देश)
गर्मी बढेसँगै देशैभर वन जंगलहरुमा आगोलागी भईरहेको छ । चैत महिना लागेसँगै विभिन्न सामुदायिक, नीजि तथा सरकारी वनमा दिनहुँ जसो डढेलोका घटनाहरु बढ्ने गरेका छन् । अहिले अधिकांश वन क्षेत्रका नयाँ बिरुवा डढेर खरानी बनेका छन् ।
मुख्यतया डढेलोले वन जङ्गलको विनाश जस्तै काठ, दाउरा, घाँस एवं गैर काष्ठ वन पैदावारको नोक्सान, स-साना बिरुवा मर्ने, वनको पुनरुत्पादनमा ह्रास आउने, जैविक विविधतामा ह्रास आउने ।
वातावरणीय असर जस्तै वायु मण्डलीय प्रदूषण, वर्षाको अनियमितता, जलवायु परिवर्तन, पारिस्थितिकीय प्रणालीमा असर हुने गर्दछ साथै सामाजिक तथा आर्थिक असर जस्तै माटोको उर्वराशक्ति ह्रास आउने, विकास निर्माण कार्यमा असर, वन नजिक रहेका बस्तीमा क्षति हुने, बहुमूल्य वनस्पति एवं वन्यजन्तुको नाश हुने गर्दछ ।
वन डढेलोबाट जैविक विविधतामा क्षति पुग्ने मात्र नभई डढेलोबाट निस्कने धुवाँको मुस्लोमा कार्बन डाईअक्साईड, कार्बन मोनोअक्साईड, मिथेन र अन्य प्राङ्गारिक ग्याँसहरू पैदा हुने र यिनीहरूका कारण वायुमण्डलमा रहेको ओजन तहमा क्षति पुग्न गई वायुमण्डलको तापक्रममा वृद्धि हुने मानिसहरूमा श्वासप्रश्वास सम्बन्धी रोगहरू लाग्न सक्ने समग्र मानव अस्तित्वलाई नै नकारात्मक प्रभाव पार्ने समस्याहरू उत्पन्न हुन सक्छन् ।
वनमा डढेलो नियन्त्रण र व्यवस्थापनमा देखिएको मुख्य चुनौती भनेको आगो निभाउन आधुनिक उपकरण, औजारहरू नहुनु, दक्ष जनशक्तिको कमी, भौगोलिक बनोट, ऐन नियममा डढेलो सम्बन्धी छुट्टै व्यवस्था नहुनु र डढेलो नियन्त्रणमा राज्यको लगानीको कमी नै हो ।
रुढीवादी परम्परा, प्रचार प्रसारको कमी, स्थानीय स्तरमा डढेलो सम्बन्धी जनचेतनाको कमी, डढेलो सम्बन्धी समयमै सूचनाको आदान प्रदान गर्न नसक्नु, गरिबी, अशिक्षा, स्थानीय स्तरमा उपलब्ध डढेलो नियन्त्रण सम्बन्धी स्रोत साधनको सदुपयोग गर्न नसक्नु, नीति नियमहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसक्नुका कारण देशले दिन प्रति दिन डढेलोले वन विनाश तथा सार्वजनिक सम्पत्तिको हानी नोक्सानी व्यहोर्नु परेको छ ।
वन डढेलो नियन्त्रण तथा व्यवस्थापनका कार्यक्रमहरू जस्तै गोष्ठी, तालिम, नाटक कार्यक्रम सञ्चालन गर्न, सबै खाले राष्ट्रिय वनहरूमा अग्नि रेखा तथा वन पथ निर्माण तथा सरसफाइ, डढेलो नियन्त्रण टोली परिचालन, वन गस्ती, डढेलोको खबर समयमै सम्बन्धित निकायमा पुर्याउन, स्थानीय स्तरका जन समुदायको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ ।
जथाभावी वनमा आगो नलगाउँ, असल नागरिकको परिचय दिउँ, वनजंगल अमुल्य प्राकृतिक सम्पती हुन माया गरौं, संरक्षण सम्वर्द्वन गरौं ।