गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले पाण्डवखानी कला र संस्कृतिको खानी रहेको बताउनुभएको छ ।
घुम्टे सांस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्च गलकोट नगरपालिका वडा नम्वर १० पाण्डवखानीको ३८ औं वार्षिकोत्सव तथा वैशाख पूर्णिमा मेलालाई सम्बोधन गर्दै नगरप्रमुख गैरेले यस्तो बताउनुभएको हो ।
उहाँले पाण्डवखानीमा कला र संस्कृतिको संरक्षण गर्नको लागि होमस्टेको आवश्यक रहेको बताउनुभएको थियो । गैरेले पाण्डवखानीमा रहेको सती घाटुलाई संरक्षण गर्नुपर्ने बताउँदै यसको संरक्षणको लागि नगरपालिकाले विशेष कार्ययोजना तयार गर्ने बताउनुभएको थियो । उहाँँले खेलकुद र संस्कृतिको संरक्षण गर्न क्लवको भुमिका महत्वपूर्ण हुने हुदा त्यसको लागि नगरपालिका समेत हातेमालो गर्न प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा राष्ट्रिय कलाकार नविन राना तथा स्थानिय कलाकारहरुको बेजोड साँगितिक प्रस्तुती रहेको थियो । त्यस्तै आज सति घाटु समेत प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रमको अवसरमा आयोजना गरिएको प्रतियोगिताहरु सञ्चालन भईरहेका छन् ।
कार्यक्रममा बागलुङ नगरपालिकाका नगर प्रमुख वसन्त कुमार श्रेष्ठ, ताराखोला गाउँपालिकाका निवर्तमान अध्यक्ष प्रकाश घर्ती, राष्ट्रिय जनमोर्चा गलकोट नगर अध्यक्ष टंक बहादुर केसीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम घुम्टे साँस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्चका अध्यक्ष प्रकाश पुनको अध्यक्षता, गलकोट नगरपालिका वडा नम्वर १० का वडा अध्यक्ष भक्त बहादुर काउचाको स्वागत र सचिव दिप घर्तीको सञ्चालनमा सम्पन्न भएको थियो ।