त्रिशूली नदीमा हराइरहेको बस खोज्नका लागि अन्तिम प्रयास भइरहेको छ। १५ दिनअघिदेखि सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीले नारायणघाट–मुग्लिन सडकको सिमलतालमा बस खसेपछि निरन्तर खोजी गरिरहेका छन्।
सरकारले हराएको बस र यात्रु खोज्न भारतसँग सहयोग मागेको थियो। भारतीय उद्धार टोली ‘एनडिआरएफ’ले सशस्त्र प्रहरी बलसँग मिलेर साउन ६ गतेदेखि नदीमा खोजी सुरु गरेको हो। भारतीय टोलीले ३ वटा सोनार क्यामेरा ल्याएका छन्, जसले देखिएका तस्वीर रेकर्ड गर्ने प्रविधि पनि उपलब्ध गराएको छ।
गोताखोर र विशेषज्ञको टोलीले सिमलतालदेखि करिब ३० किलोमिटर पर काभ्रेघाटसम्म सोनार क्यामेरा डुबाएर खोजी जारी राखेको छ। चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार केही स्थानमा शंकास्पद वस्तुहरू पत्ता लागेको छ। बसको स्थान पहिचान गर्न भारतबाट ४० किलोको चुम्बक मगाइएको छ, जुन चुम्बक शनिबार दिउँसो प्रयोग गरिनेछ।
एसपी जनक पुरीका अनुसार सोनार क्यामेराले देखाएका सम्भावित आकृतिहरूको पुष्टि गर्न चुम्बक प्रयोग गर्ने तयारी भइरहेको छ।
चुम्बक पठाउन नदीको बहाव र अन्य जटिलताका कारण कठिनाइ भइरहेको छ। तर, खोजी कार्य जारी छ। यस अन्तिम प्रयासपश्चात् खोजी जारी राख्ने वा नराख्ने भन्ने निर्णय गरिनेछ। असार २८ गते नारायणघाट–मुग्लिन सडकको सिमलतालबाट त्रिशूली नदीमा खसेका दुई बसमा लगभग ६५ यात्रु थिए। अहिलेसम्म १९ जनाको शव भेटिएको छ, जसमा ५ जना भारतीय यात्रु हुन्।