चितवनको भरतपुर महानगरपालिका-२९ स्थित सिमलतालमा १५ दिनअघि आएको भेलबाढीले त्रिशूली नदीमा खसेको बसको खोजी कार्य रोकिएको छ। शनिबार मध्यान्हदेखि शुरू गरिएको खोजी कार्यमा भारतबाट ल्याइएको १९ किलो र १४ किलोको दुई चुम्बक प्रयोग गरिएको थियो। तर, खोजीको क्रममा १९ किलोको चुम्बक हराएको छ।
खोजी कार्य देवघाटसम्म जारी राखिए पनि चुम्बक फेला पार्न नसकिएको स्रोतले बताएको छ। चुम्बकसँगै उद्धारमा प्रयोग गरिने लाइफ ब्वाई ट्युब पनि पानीले बगाएको छ। प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार, भारतीय टोलीले सम्भावित स्थानमा बस पत्ता लगाउन ‘म्याग्नेटिक डिभाइस’ (ठूलो चुम्बक) प्रयोग गरेका थिए।
सिमलतालदेखि देवघाटसम्म करिब २० किलोमिटरको क्षेत्रफलमा खोजी गर्दा पनि बस भेटिएन।
भोलि बिहान भारतीय टोलीले खोजी जारी राख्ने वा न्राख्ने निर्णय हुनेछ। चितवनका प्रमुख जिल्ला अधिकारी यादवले बताएअनुसार, भारतीय टोलीले अन्तिम प्रतिवेदन दिएर फिर्ता हुने सम्भावना छ, तर अन्तिम निर्णय भने भइनसकेको छ।