मेटा कम्पनीले एक महत्वपूर्ण घोषणा गर्दै करिब ६३ हजार इन्स्टाग्राम अकाउन्टहरू हटाएको जानकारी दिएको छ। यी अकाउन्टहरू अश्लील गतिविधिहरूसँग सम्बन्धित थिए, जसले धेरै मानिसहरूलाई ठगी गरेको मेटाले बताएको छ।
यस अभियानको केन्द्रबिन्दु अफ्रिकी देश नाइजेरिया थियो। घटनासँग सम्बन्धित निकायले मेटालाई २२ करोड जरिवाना गरेको थियो। मेटाले हटाएका अकाउन्टहरूमा २५ सय प्रोफाइलको सञ्जाल समेटिएको थियो, जसमा २० व्यक्तिहरूको समूह सक्रिय थियो। यस समूहले १३०० फेसबुक अकाउन्ट, २०० फेसबुक पेज, र ५७०० फेसबुक समूहहरू पनि सञ्चालन गर्दै आएको थियो, जसले विभिन्न प्रकारका स्क्यामहरूमा सहभागिता जनाएको थियो।
समूहले विपरीत लिंगका मानिसहरूलाई अश्लील तस्वीरहरू पठाएर धम्क्याउने र पैसाको माग गर्ने गरेको पाइएको छ। यदि माग पूरा नगरेमा तस्बिरहरू सार्वजनिक गर्ने धम्की दिने गरेको समूहको आरोप छ। यो समूहले विशेष गरी अमेरिकी पुरुषहरूलाई आफ्नो सिकार बनाएको थियो, र आफ्नो पहिचान लुकाउने प्रयास गर्दै आएको थियो। जब वयस्क पुरुषहरूलाई फसाउन नसकेपछि, समूहले किशोर-किशोरीहरूलाई निसाना बनाउन थालेको थियो।
मेटाले यस्ता अपराधहरू रोक्नको लागि गत अप्रिलमा एआई-आधारित प्रविधिको परीक्षण थालेको थियो। यो प्रविधिले इन्स्टाग्राममा किशोर प्रयोगकर्ताहरूलाई यस्ता खतरनाक गतिविधिबाट जोगाउने काम गर्दछ। साथै, मेटाले कानुनी संयन्त्रहरूसँग सहकार्य गर्दै यस्ता आपराधिक गतिविधिहरूको रोकथाम गर्न प्रयास जारी राखेको छ।
मेटाको यो कदमले सामाजिक सञ्जालमा बढ्दो अश्लीलता र स्क्यामका गतिविधिहरूविरुद्धको लडाइँमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।