१६ साउन, काठमाडौं। त्रिशूली नदीमा हराएको बस र बेपत्ता यात्रुहरूको खोजी कार्यलाई तीव्र बनाउन सरकारले चीनसँग सहयोग माग्ने तयारी गरेको छ।
गृहसचिव एकनारायण अर्यालले संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बुधबार जानकारी दिँदै, “हामीले खोजी अभियानलाई थप प्रभावकारी बनाउन चीन सरकारसँग सहयोगका लागि अनुरोध गर्ने तयारी गरिरहेका छौं,” भने। गत २८ असारमा मुग्लिन-नारायणघाट सडकको सिमताल क्षेत्रमा लेदो सहितको पहिरोमा दुई वटा बस बगेका थिए। बसमा ६५ जना यात्रु सवार थिए, जसमा तीन जना पौडिएर ज्यान बचाउन सफल भए। हालसम्म २४ जनाको शव फेला परेको छ भने अन्य यात्रुहरू र बसको अवस्था अझै अज्ञात छ। यसअघि, भारतीय जनशक्ति पनि खोजी कार्यमा समावेश गरिएको थियो।
तर, अझै हराइरहेका बस र यात्रुहरूको पत्तो लाग्न नसकेपछि चीन सरकारसँग पनि सहयोगको पहल गर्न लागिएको हो। सरकारले त्रिशूली दुर्घटनामा हराइरहेका यात्रुहरूको खोजी कार्यलाई सफल बनाउन सबै उपलब्ध स्रोत र साधनको प्रयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको छ।