सिन्धुली, २५ साउन — सिन्धुलीको सुनकोशी गाउँपालिका-१ मा आज बिहान भएको दुर्घटनामा एक मोटरसाइकल चालकको ज्यान गएको छ। सर्लाहीका ३५ वर्षीय गणेश राय काठमाडौंंबाट सिन्धुलीतर्फ गइरहेको पिकअप भ्यानले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि तत्कालै काभ्रेको धुलिखेल अस्पताल लगिएको थियो, जहाँ उपचारको क्रममा उनको मृत्यु भयो।
दुर्घटना बिहान करिब पौने ६ बजे भएको हो, जहाँ प्रदेश २-०२-००१ च ०४८७ नम्बरको पिकअप भ्यानले प्रदेश २-०३-००६ प ३७५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। सोही दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार ३३ वर्षीय धिरेन्द्र ठाकुर पनि घाइते भएका छन्, जसको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे जिल्ला प्रहरी कार्यालय सिन्धुलीका इन्सपेक्टर केशव कुमार कटुवालले जानकारी दिएका छन्।