२५ साउन, काठमाडौं – जापानका अधिकारीहरूले निकट भविष्यमा शक्तिशाली भूकम्प आउने उच्च सम्भावना रहेको भन्दै नागरिकहरूलाई सतर्क रहन आग्रह गरेका छन्। बिहीबार क्युसु क्षेत्रमा ७.१ म्याग्नेच्युटको भूकम्प गएकाले सरकारले यो चेतावनी जारी गरेको हो।
जापानको मौसम विज्ञान एजेन्सीले भूकम्पपछि सुनामी र भीषण हावाहुरीको सम्भावना पनि औंल्याएको छ। नान्काई सूचना प्रोटोकल अन्तर्गत यो विशेष चेतावनी जारी गर्दै, सम्भावित जोखिमबाट बच्नका लागि आवश्यक तयारी गर्न जनतालाई सुझाव दिएको छ।
एजेन्सीका अनुसार, नान्काई क्षेत्र र आसपासमा ठूलो भूकम्प आउन सक्ने प्रवल सम्भावना छ। यद्यपि, भूकम्प कहिले आउँछ भन्ने ठ्याक्कै अनुमान लगाउन भने सकिँदैन।
सुरक्षा उपायको रूपमा, टोकियोदेखि ओकिनावा प्रिफेक्चरसम्मका क्षेत्रहरूमा स्थानीय तहहरूलाई तयारी गर्न र आपतकालीन योजना लागू गर्न आग्रह गरिएको छ। घरभित्रका फर्निचरहरूलाई सुरक्षित तरिकाले बाँध्न र परिवारका सदस्यहरूको सुरक्षा सुनिश्चित गर्न पनि सुझाव दिइएको छ। विशेषगरी बालबालिका, वृद्धवृद्धा र अशक्तहरू बढी जोखिममा हुने भएकाले तिनीहरूको सुरक्षामा विशेष ध्यान दिन सल्लाह दिइएको छ।
विज्ञहरूले नान्काई भूकम्पलाई ८ देखि ९ म्याग्नेच्युटको हुने सम्भावना औंल्याएका छन्, जसले आगामी तीन दशकभित्र ७० देखि ८० प्रतिशतको सम्भावना राख्छ। यस्तो शक्तिशाली भूकम्पले करिब २ लाख ३० हजार मानिसको ज्यान लिन सक्छ र २० लाख घरहरू ध्वस्त पार्न सक्छ भन्ने सरकारी अनुमान छ।