रामेछापको शैलुङ्ग गाउँपालिकामा पहिरोले ठूलो क्षति पुर्याएको छ। लेखर्क पहरीगाउँमा गएको राति आएको पहिरोले तीनवटा घर बगाउँदा दुःखद घटना भएको छ, जसमा दुई जनाको ज्यान गएको छ भने केही व्यक्ति अझै बेपत्ता रहेका छन्।
पहिरोको प्रभावले अँधेरीखोलाको पुलसमेत बगाएको छ, जसले गर्दा उद्धार टोलीको घटनास्थलमा पुग्न ढिलाइ भएको थियो। रामेछाप जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर कौशल न्यौपानेका अनुसार पहिरोले क्षति पुर्याएको सूचना आज बिहान ३:३५ बजे प्राप्त भएको थियो।
तत्कालै प्रहरी टोली घटनास्थलतर्फ प्रस्थान गरे पनि भत्किएको पुलले गर्दा उनीहरूलाई समयमै पुग्न कठिनाइ भयो।घटनास्थलमा प्रहरी टोलीले दुई जनाको शव भेटिसकेको छ भने अन्य बेपत्ता व्यक्तिहरूको खोजी कार्य जारी छ।
हालसम्म मृतक र बेपत्ता व्यक्तिहरूको परिचय खुल्न सकेको छैन।
जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रदीप कुमार सिंहसहितको टोली पनि घटनास्थलमा थप जानकारीका लागि प्रस्थान गर्दैछ।