महोत्तरीमा सशस्त्र प्रहरीले स्रोत नखुलेको १५ लाख २४ हजार ९ सय भारतीय रुपैयाँसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको वैशाली जिल्लाको हाजिपुर निवासी ३४ वर्षीय ललन कुमार र २६ वर्षीय मोहन कुमार रहेका छन्। उनीहरूलाई आइतबार बिहान १० बजे सशस्त्र प्रहरी बल, नेपाल गुल्म जलेश्वरबाट खटिएको टोलीले मालिवडा बसपार्क क्षेत्रमा जाँच गर्दा पक्राउ गरेको हो।
उनीहरूले चलाएको भारतीय नम्बर प्लेट (BR 31 AK 8807) को अल्टो कारमा शंका लागेर चेकजाँच गर्दा स्रोत नखुलेको उक्त रकम फेला परेको हो।
पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय, पथलैयामा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक विनोद केसीले जानकारी दिएका छन्।

