अमेरिकी डलर देखाएर ६४ लाख रुपैयाँ ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाहीका साजन भनिने लाल बहादुर घिसिङ, सिन्धुपाल्चोकका सुन बहादुर तामाङ र भीमबहादुर तामाङ रहेका छन्, जो हाल भक्तपुरमा बसोबास गर्दै आएका थिए। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई जडिबुटीबाट नियन्त्रणमा लिएको हो।
उनीहरूले विभिन्न पीडितलाई अमेरिकी डलर साट्दा ठूलो फाइदा हुने प्रलोभन देखाई ठगी गरेका थिए।
गत भदौ २८ गते भक्तपुर चाँगुनारायणबाट ४० लाख रुपैयाँ ठगी गरेपछि फरार भएको यो समूहले धादिङका एक पीडितसँग ७ लाख, चितवनका एक पीडितसँग ५ लाख, र अन्य स्थानबाट समेत लाखौं रुपैयाँ ठगी गरेको खुलेको छ।उनीहरुलाई थप अनुसन्धान र कारवाहीका लागि भक्तपुर प्रहरी परिसरमा पठाइएको छ।