यस वर्ष नेपालमा मनसुनको अवधि लम्बिएको छ, जुन सामान्यतया अक्टुबर २ मा सकिने भए पनि यस वर्षको मनसुन दोस्रो हप्तासम्म कायम रहने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्। मौसमविद प्रतिभा मानन्धरका अनुसार, सुदूरपश्चिम क्षेत्रबाट यसै हप्ताबाट मनसुन बाहिरिन सुरु भए पनि कोशी प्रदेशमा दशैंको टीकासम्म (अक्टुबर १२) मनसुन रहन सक्ने सम्भावना छ।
डा. धर्मराज उप्रेतीले मनसुन अवधि रहँदासम्म वर्षाको सम्भावना कायमै रहे पनि यसपटक भारी वर्षा भने नहुने बताएका छन्। हाल भारतको गुजरात र पश्चिमी क्षेत्रबाट मनसुन बाहिरिसकेको भए पनि, नेपालको सुदूरपश्चिममा पश्चिमी वायु प्रवेश गरेपछि पूर्वतिर सर्दै जाने छ।
नेपालमा सरदर जुन १३ मा मनसुन भित्रिने र अक्टुबर २ मा बाहिरिने भए पनि यस वर्ष मनसुन जेठ २८ मा भित्रिएको थियो। मनसुनी वर्षाका विवरण अनुसार सन् २०१३ मा सबैभन्दा ढिलो अक्टुबर १९ मा मनसुन बाहिरिएको थियो। जलवायु परिवर्तनका कारण पछिल्ला वर्षहरूमा मनसुनको अवधि लम्बिने र वर्षा अस्वाभाविक हुने देखिएको छ।