जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले पूर्वी नेपालका ९ जिल्लामा बाढीको जोखिम रहेको चेतावनी दिएको छ। ताप्लेजुङ, संखुवासभा, पाँचथर, तेह्रथुम, धनकुटा, इलाम, झापा, मोरङ, र सुनसरीमा साना नदी तथा खोलाहरुमा आकस्मिक बाढीको जोखिम रहेको महाशाखाले आज बिहान जारी गरेको सूचनामा उल्लेख छ।
आगामी तीन दिनसम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।कन्काई नदीको जलसतह बढ्ने भए पनि सतर्कता तहभन्दा तलै रहने जानकारी दिइएको छ। तर, नदी किनार क्षेत्रका बासिन्दालाई भने विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।

ठूला नदीहरु कोशी, नारायणी, कर्णाली, महाकाली, बागमती लगायत अन्य मुख्य नदीहरुमा जलसतह सामान्य मात्र घटबढ हुने अनुमान गरिएको छ।
साना नदीहरुको बहाव भने भोजपुर, खोटाङ, सोलुखुम्बु, उदयपुर, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, कास्की, लमजुङ लगायतका क्षेत्रमा बढ्न सक्ने सम्भावना रहेकाले सतर्क रहन महाशाखाले विशेष सुझाव दिएको छ।