भौतिक पूर्वाधार मन्त्रालयले दशैं अगाडि वीपी राजमार्ग पूर्ण रूपमा सञ्चालन गर्न नसकिने बताएको छ। नेपाली सेनाको हेलिकप्टरबाट निरीक्षण गरेपछि, मन्त्रालयले बिहीबार आयोजित पत्रकार सम्मेलनमा यो जानकारी दिएको हो।
सचिव केशवकुमार शर्माका अनुसार, बाढी र पहिरोले सडकको ठूलो भाग बगाएपछि यो निर्णयमा पुगेको हो। विशेष गरी चौकीडाँडा–कालढुंगा खण्डको १८ किलोमिटरमध्ये १२ किलोमिटर सडक रोशी खोलाले बगाएको छ।
पहाड काटेर तत्काल सडक बनाउने अवस्था नदेखिएकाले, डाइभर्सनमार्फत अस्थायी रूपमा सडक सञ्चालनको प्रयास गरिनेछ। वैकल्पिक मार्गका रूपमा, सित्खाबाट दोलालघाट र अरनिको राजमार्ग हुँदै काठमाडौं आउने रुटलाई सिफारिस गरिएको छ।
यस्तै, पूर्व जाने गाडीका लागि कान्ति राजपथ र दक्षिणकाली छैमले सडकलाई वैकल्पिक मार्गको रूपमा प्रयोग गर्न सकिने बताइएको छ।
सडक विभागका महानिर्देशक रामहरि पोखरेलले दशैं अगाडि सिन्धुली वा काठमाडौंमा अलपत्र परेका गाडीहरूलाई वैकल्पिक उपायमार्फत उद्दार गरिने जानकारी दिए।

