गलकोट नगरपालिकाले सार्वजनिक सुचना जारी गर्दै दरमखोला र गौदीखोलामा माछा मार्न निषेध गरेको समय थप गरेको छ ।
गलकोट नगरपालिका भई बग्ने दरमखोला र गौदीखोलाको असला माछा नेपालमै प्रसिद्ध हुनुको साथै गलकोटको चिनारीको रुपमा रहेको असला माछाको संरक्षण गर्नु स्थानिय सरकार र समुदाय सबैको साझा कर्तव्य भएकोले गलकोट नगरपालिकाले जलचर संरक्षण कार्यविधि २०८० तर्जुमा गरी गत आर्थिक वर्षदेखी नै माछाले फुल पार्ने अवधिमा माछा मार्न प्रतिवन्ध लगाई माछा संरक्षणको कार्य गर्दै आईरहेको छ । खोलामा माछा प्रतिवन्ध गर्दा माछाको उत्पादन उल्लेख्य रुपले वृद्धि भएको प्रतिक्रिया आम नागरिकबाट समेत प्राप्त भएको सूचनामा उल्लेख गरिएको छ ।
विगतमा जस्तै यस वर्ष पनि असला माछाले फुल पार्ने समय शुरु भएको भन्दै गलकोट नगरपालिकाले गत भदौ १ गतेदेखी कार्तिक मसान्तसम्म ३ महिनाको लागि दरमखोला र गौदीखोलामा कोहि कसैले कुनै पनि विधि र तरिका प्रयोग गरी माछा नमार्न सम्बन्धित सबैका लागि सार्वजनिक सूचना जारी गर्दै अनुरोध गरेको थियो ।
तर गलकोट नगरपालिकाले पुन आज सार्वजनिक सूचना जारी गर्दै आगामी मंसिर १५ गतेसम्मको लागि १५ दिन अझै खोलामा माछा नमार्नको लागि अनुरोध गरेको छ ।
गलकोट नगरपालिकाले जारी गरेको सूचना लाई अटेर गरी माछा मार्ने कार्य गरेमा गलकोट नगरपालिकाको जलचर संरक्षण कार्यविधि २०८० को दफा १४ बमोजिम रु एक लाख सम्म जरिवाना हुने समेत नगरपालिकाले जनाएको छ ।