गलकोट नगर अस्पतालमा प्राथमिक र आधारभुत स्वास्थ्य सुविधा उपलब्ध हुनेगरी व्यवस्थित गर्ने कुरामा संघिय मन्त्रालयले सहयोग गर्ने प्रतिवद्धता
नेपाल सरकारका स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्री प्रदिप पौडेलले अस्पतालहरुले सेवा दिने हुन् र सबै अस्पतालले एउटै प्रकारको सेवा दिन सक्दैनन् भन्नेमा जनताहरु स्पष्ट हुनुपर्ने बताउनुभएको छ ।
गलकोट नगर अस्पताल गलकोट नगरपालिका वडा नम्वर ५ मा आकस्मिक प्रसुती र नवजात शिशु सेवा (सिईओएनसी) को उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले उक्त भनाई राख्नुभएको हो । उहाँले अस्पतालको पहिचान त्यसले दिने सेवाको आधारमा हुने बताउँदै आधारभुत अस्पतालबाट विशिष्टकृत अस्पतालमा रिफरल प्रणालीलाई व्यवस्थित गर्नुपर्ने बताउनुभएको छ । मन्त्रि पौडेलले नयाँ जग राखेर त्यसलाई पूर्णता गर्न धेरै समय लाग्ने भएकोले उपलब्ध स्रोत, साधन, अस्पताल, जनशक्ति र उपकरणलाई प्रयोग गरी सेवा प्रदान गर्नुपर्ने बताउनुभएको छ । उहाँले नेपाल सरकारले अव छिट्टैनै ईएचएस सेवा सुरु गर्न लागिरहेको बताउँदै स्वास्थ्य क्षेत्रमा नागरीकलाई गुणस्तरीय सेवा प्रदान गर्नको लागि तिन तहको सरकारले साझा नीति बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।
त्यस्तै मन्त्री पौडेलले गलकोट नगर अस्पतालमा प्राथमिक र आधारभुत स्वास्थ्य सुविधा उपलब्ध हुनेगरी व्यवस्थित गर्ने कुरामा संघिय मन्त्रालयले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै गलकोट नगर अस्पताल र बुर्तिबाङ अस्पतालमा जनशक्ति थप गर्न र व्यवस्थित ढंगबाट विकास गर्न, प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्ने अस्पतालको रुपमा समृद्ध बनाउनको लागि काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । उहाँले स्वास्थ्य बिमा कोषलाई व्यवस्थित गर्दै व्यवस्थापन पक्षमा भएका समस्याहरुलाई सुधार गर्ने समेत बताउनुभएको थियो ।
कार्यक्रममा गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरे र स्वास्थ्य स्वयमसेविकाहरुले स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्री प्रदिप पौडेललाई मागपत्र समेत प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा बागलुङ क्षेत्र नम्वर १ का संघिय सांसद चित्र बहादुर केसी, बागलुङ क्षेत्र नम्वर २ का संघिय सांसद देवेन्द्र पौडेल, गण्डकी प्रदेशका उपसभामुख बिना थापा मगर, गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिम बहादुर खड्का, गलकोट नगर अस्पतालका प्रमुख एमडिजिपी डाक्टर राजेश पौडेलले शुभकामना मन्तव्य राख्नुभएको थियो । उक्त कार्यक्रममको अवसर पारी गलकोट नगर अस्पतालको जग्गा व्यवस्थापनको लागि गलकोट नगरपालिकाका पुर्व उपप्रमुख रेनुका काउचा मगरले ५० हजार, सुवेदार हिम बहादुर खड्काले ५५ हजार र गलकोट समाज टोकियो जापानका उपाध्यष ईश्वर बस्नेतले १ लाख १५ हजार सहयोग गर्नुभएको थियो । त्यस्तै कार्यक्रममा डाक्टर, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रम गलकोट नगर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेको अध्यक्षता, गलकोट नगरपालिकाका नगर उपप्रमुख फमलाल निउरेको स्वागत र गलकोट नगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष पवन हमालको सञ्चालनमा सम्पन्न भएको थियो ।