न्वागी मेलाकै लागि लक्षित गरेर वडा नं ५ खार बजार स्थित खार माध्यमिक विद्यालय भने बन्द छ ।
बागलुङको बडिगाड गाउँपालिकाका केही शिक्षकहरु विद्यालयमा अध्यापन गराउन छाडेर न्वागी मेलामा व्यस्त भएको पाईएको छ ।
पौँदीबासीहरुको न्वागी पर्वको अवसरमा जारी न्वागी मेलामा केही विद्यालयका शिक्षकहरु आयोजक समितिको संयोजकमै बसेर माईक छोप्ने हुटहुटीले गर्दा विद्यार्थीहरुको भविष्यमाथि खेलवाड भएको हो । यसरी विद्यालय नै बिदा गरेर बस्ने शिक्षकहरुमा थानापति आधारभूत विद्यालयका राहत शिक्षक रामप्रसाद घिमिरे, पौँदीटारी आधारभूत विद्यालयका शिक्षक बुद्ध परियार रहेका छन् । दुबै शिक्षक आयोजक समिति मध्ये घिमिरे प्रचार प्रसार समिति संयोजक र परियार खेल संयोजक भएर कार्यक्रममा सुरुवाती दिन देखि नै खटिईरहेका छन् । न्वागी मेला मसिंर ३ गतेदेखि सुरु भएको हो । थानापति आधारभूत विद्यालयका प्रधानाध्यापक खिमराज घिमिरेले ६ र ७ गते विद्यालयको आन्तरिक स्थानीय विदा रहेपनि शिक्षक रामप्रसाद घिमिरे भने मसिंर ३ गते देखि नै विद्यालयमा अनुपस्थित रहेको बताउनुभयो । ३ दिनको विदाका लागि निवेदन दिएर गएको उहाँको भनाई छ । शिक्षक अनुपस्थित रहेको विषयमा बुझ्न पौँदीटारी आधारभूत विद्यालयका प्रधानाध्यापक टिका बहादुर भुजेललाई फोन गर्न खोज्दा भने फोन उठ्ेन । उक्त विद्यालयका एक शिक्षकका अनुसार शिक्षक बुद्ध परियार निजि स्रोतमा कार्यरत छन् । ती शिक्षकका अनुसार उनी मसिंर २ गतेदेखि विद्यालयमा अनुपस्थित छन् । विद्यालय भने नियमित रुपमा सञ्चालनमा रहेको छ । बडिगाड गाउँपालिका वडा नं ५ का वडाध्यक्ष विष्णु प्रसाद आचार्यका अनुसार आफुले यो विषयमा शिक्षकहरुलाई जानकारी गराएको बताए । शिक्षकहरु आफ्नो कर्तव्यबाट विचलित हुन नहुने भन्दै उहाँले अटेर नगर्न शिक्षकहरुलाई अनुरोध गर्नुभयो ।
गाउँपालिकाका शिक्षा शाखाका प्राविधिक सहायक कुलराज घिमिरेले विद्यालयको आन्तरिक कुरा रहेकाले शिक्षा शाखामा जानकारी नरहेको र शिक्षकहरुले आफ्नो काम गर्नुपर्ने बताउनुभयो । त्यस विषयमा आफुले बुझ्ने उहाँको भनाई थियो ।
बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले आफु कहाँ त्यस्तो केही गुनासो नआएको र अनुगमन गरेर काममा पठाईने बताउनुभयो । गाउँपालिका कार्यालयकै अगाडी मेला जारी रहँदा र शिक्षकहरुलाई नै भान्से बनेको देख्दा भने नियामक निकाय भने मौन छन् ।
न्वागी मेलाका कारण विद्यालय नै बन्द
न्वागी मेलाकै लागि लक्षित गरेर वडा नं ५ खार बजार स्थित खार माध्यमिक विद्यालय भने बन्द छ । कार्यक्रम स्थलबाट नजिकै रहेको र विद्यालयको पठनपाठनमा समस्या हुने भएकाले विद्यालय बन्द गर्नुपरेको विद्यालयका प्रधानाध्यापक यज्ञ घिमिरेले जानकारी दिनुभयो ।
पोहोर सालको बर्खे विदा कम गरेर न्वागी मेलामा स्थानीय विदा समायोजन गरेर विदा गरिएको उहाँको भनाई छ । पठनपाठनमा डिस्टर्ब हुने भएकाले बर्खे विदाको विदा कटौती गरेर अहिले बिदा गरिएको उहाँको भनाई छ । विद्यालय व्यवस्थापन समितिको निणर्य अनुसार विद्यालय बन्द गरिएको उहाँको भनाई छ ।
पोहोर साल विद्यालय खोलेका कारण विद्यार्थीहरु भागेर मेलामा जाने र झनै समस्या र अभिभावकको गुनासो आउने भएकाले यसवर्ष भने मसिंर ४ गते देखि ८ गते सम्म नै विद्यालय बन्द गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर घिमिरेले जानकारी दिए ।