देशको माटो छातीमा राखेर
तिमी सदाका लागि निदाएपछी
शासन फेरियो व्यक्ती र राणा फेरिए
तर उस्तै छ देशको हालत
उस्तै छ गरिब जनताको समस्या
सहिदका रगतको मुल्य
कुर्सीसगँ साटेकाहरुले
लडाइ र आन्दोलन आज पनि
जारी नै राखेका छन् देशमा
फरक यति हो !
तिमी सिङ्गो देश जोगाउन लड्यौ
आज कुर्सी जोगाउन लड्दैै छन्
तिमी तानाशाहको विरुद्धमा आन्दोलन गर्यौ
आज विपक्षको विरुद्धमा आन्दोलन गर्दै छन्
दुःखी पीडितको आवाज बनेर
दुर्गम बस्तीमा चेतनाको बिउँ छर्ने
देशलाई निस्वार्थ माया गर्ने,
नेपाल आमाका पीर व्याथाहरु
छातीमा राखेर मरेका
देश र जनताका लागि फाँसी चढेका
तिमी वीरहरुलाई
सहिद दिवसको शुभकामना
तिम्रा रगतको तलाउमा
राजनीतिको डुङ्गा चलाएर
आकाश छुने महल बनाएकाहरुलाई
तिमीलाई सम्झने कहिलै फुर्सद छैन
भ्रष्टाचारी बचाउन छोडेर
अरबौको घुस पचाउन छोडेर
कहाँ सम्झन्थे तिमीलाई
कहाँ याद गर्थे तिम्रो सपना
न त तिमी पार्टीका झण्डा बोकेर
आन्दोलनमा दिन बिताउन सक्छौ
न त तिमी चुनावमा मत हालेर
कुनै दललाई जिताउन सक्छौ
यहाँ बाध्यताले परदेशीएका हरुलाई त,
देशका नागरिकमा गनिदैन
नेताका गुलामी नगर्ने हरुलाई
मान्छेमा नै भनिदैन
तिमीहरु त आठ दशक अगाडि नै
देश पुरै भिज्ने गरि रगत बगाएका थियौ
देशलाई प्रजातन्त्रको बाटोमा हिडाउन
घाँटीमा पासो लगाएका थियौ
तिमी संगै रुखमा झुन्डाइए
तिम्रा ती सुन्दर सपना
तिम्रा शरीर संगै बलि चढाइदिए
तिमी ले देखेका नयाँ नेपाल
सदाका लागि गुमनाम बनाएर
वर्षको १ दिन मात्रै
तिम्रो बलिदानीका गित गाउनेलाई,
तिम्रा सपनालाई कुल्चिएर
तिम्रै सालिकमा माला लाउनेलाई
सहिद दिवसको शुभकामना
देशका बागडोर सम्हालेकाहरुले
देश चुसेर खोक्रो पारीसके
देशलाई अग्रगामी छ्लाङ मार्छौ भन्दै
तिमी जस्ता हजारौं युवा मरिसके
छिमेकीले सिरमा तेक्दा
एैया ! भन्न न दिनेले
कुर्सी खोसिन्छ भन्दै आन्दोलनको
आवहान गर्छन
गरिब जनताहरु उपचार नपाएर मर्छन
तिमी आफू मरेर देश बचायौ
अहिले देश बेचेर भुडी भर्छन
गरिब किसानका पसिनामा समेत
फोहोरी राजनीति गर्छन
गाउँ पुगेर जनतामाझ भ्रम छर्ने
अप्राधीको सदैव संरक्षण गर्ने ,
देश लुट्ने अनि लुटाउने
बलात्कारी माला लगाएर छुताउने
देशका ती कपुत हरुलाई पनि
सहिद दिवसको शुभकामना
✍️लक्ष्मी अर्गेजा मगर
ढोरपाटन-४, बाग्लुङ

