(गद्य कविता)
नेपालको शिक्षा उज्यालो सूर्य जस्तै चम्किनुपर्छ ।
हरेक बालबालिकाले ज्ञानको उज्यालोमा बाँच्न पाउनुपर्छ।
केवल किताबी अक्षरमा सीमित होइन,
जीवनमै लागू हुने शिक्षाले हर नेपालीलाई उजागर गर्नुपर्छ।
पाठशाला भित्र मात्र होइन,
खेतबारी, बगर, पाखा र पहाडमै पनि सिकाइ हुनुपर्छ।
कक्षा कोठाभित्र चार दिवारले घेरिएको होइन,
सजीव अनुभवले भरिएको शिक्षा प्रणाली चाहिन्छ।
सिर्जनशील सोच, निडर आत्मबल,
र कर्मशील हातहरूले भविष्य बुन्नुपर्छ।
विदेशी भूमिमा होइन, आफ्नै माटोमा
स्वाभिमानका साथ उभिन सक्ने शिक्षा हुनुपर्छ।
समान अवसर, सबैलाई पहुँच,
धनी-गरिबको भिन्नता मेट्ने ज्ञान हुनुपर्छ।
केवल डिग्री होइन, सीपयुक्त शिक्षा,
जसले रोजगारी र आत्मनिर्भरता दिन सक्नुपर्छ।
हाम्रो भाषा, संस्कृति, इतिहासको सम्मान गर्दै,
विज्ञान र प्रविधिसँग जोड्ने बाटो खोल्नुपर्छ।
शिक्षा केवल जागिरको भर होइन,
समाज बदल्ने, देश समृद्ध बनाउने उपाय हुनुपर्छ।
नेपालको शिक्षा गहिरो जरा बोकेको रूख जस्तो होस्,
जुन पुस्ता पुस्तासम्म हराभरा रहोस्।
याम बहादुर थापा मगर
बागलुङ नगरपालिका १०, भकुण्डे, धौलेचउर, बागलुङ