उनीहरू अझै बैठकमा छन्।
टेबल वरिपरि कुर्सीहरू भरिएका छन् ।
कसैको टाइ खुकुलो बाँधिएको छ,
कसैको अनुहारमा थकानको मुस्कान छ।
कागजहरू पल्टिन्छन्,
प्रस्तावहरू सुनिन्छन्,
तर आवाज न सुन्ने कानका लागि हो।
हिजो जसरी आज पनि ।
समृद्धिको नारा बोकिएको छ,
तर नारा ओसार्नेहरू कै जिब्रोमा भर छैन।
दस्तावेजमा टाँसिएका सपना
कुर्सीको सानो हल्लासँगै भत्किन्छन्,
र फेरि अर्को बैठक तय हुन्छ
पुनः समीक्षा गर्नका लागि,
अघिल्लो बैठकमा के गरियो भनेर।
भुइँमान्छेको पीडा
एजेन्डामा पर्दैन,
पर्दा पनि, छलफल हुँदैन।
उनको रित्तो भाँडो,
उनको च्यातिएको भर नपर्ने जिन्स कपडा
त्यति महत्व राख्दैन
जति चिया ब्रेकको समय।
समय बित्दछ मस्तै
पञ्चवर्षीय योजना
दशक पार गरी शताब्दी पुग्छ,
तर त्यहीँ कुर्चीमा उस्तै अनुहार
उस्तै प्रतिवेदन,
उस्तै प्रतिबद्धता।
बैठक बस्नेहरूले बिर्सिए
योजना कागजमा होइन,
जनताको छातीमा लेखिनुपर्छ।
तर उनीहरू
छातीमा लेख्ने भाषा बिर्सेका छन्,
र फेरि अर्को बैठक तय गर्छन्।
उपलब्धि ?
छ — बैठक सम्पन्न भयो।
माइन्ट लेखियो,
दस्तखत गरियो।
तर जनता ?
उपलब्धिमुलक बैठक बनोस
भुइमान्छे जनता चाहान्छन
तर बैठकहरू औपचारिकमा पुगेर
फेरि कुर्नेछन् अर्को बैठकको पर्खाइमा।
याम बहादुर थापा मगर
बागलुङ नगरपालिका १०, भकुण्डे, धौलेचउर, बागलुङ

