थम्मन थापा/गलकोट
बागलुङको गलकोट नगरपालिकाको नगर प्रहरी बलको प्रमुखमा कृष्ण बहादुर खत्री नियुक्त हुनुभएको छ । उहाँले नगर प्रहरी प्रमुखको रुपमा काम गर्न थालेको गलकोट नगरपालिकाका प्रवक्ता हिम बहादुर भण्डारीले जानकारी दिनुभयो ।
खत्री युएईको अबुधाबी प्रहरीको अवकाश प्राप्त प्रहरी हुनुहुन्छ । लामो समय युएईमा प्रहरीको रुपमा काम गर्नुभएका उहाँ जिम प्रशिक्षक देखि प्रहरीमा कार्य सम्पादनमा अब्बल हुनुहुन्थ्यो । अवकाशपछि उहाँको विज्ञता गलकोटको नगर प्रहरी बलमार्फत उपयोग गरिने भण्डारीले बताउनु भयो ।
हाल गलकोट नगर प्रहरीमा करिब ३ जना कार्यरत रहेका छन् । तर यसलाई आवश्यकता र कामको चाप अनुसार संख्या बढाएर ५ जना सम्म पुर्याउन सकिने गलकोट नगरपालिकाले जनाएको छ । नगर प्रहरीको टिम खत्रीको कमाण्डमा हुनेछ ।
आफु नगर प्रहरी बल प्रमुख हबल्दारमा नियुक्त भएको नगर प्रहरी प्रमुख खत्रीले पनि पुष्टि गर्नुभयो । खत्रीले स्थानिय तहको ऐन र नियममा रहेर आफूले कार्य सम्पादन गर्ने प्रतिकृया दिनुभयो ।

