पृष्ठभूमि
मध्ययुग (५औँ–१५औँ शताब्दी) युरोपको इतिहासमा, सामन्तवादी आर्थिक प्रणाली, निरङ्कुश राजतन्त्र, र धार्मिक विश्वासमा आधारित वैचारिक मान्यताको विशेषता बोकेको कालखण्ड हो। यो अवधिलाई स्थिरता, जडता र नवीन चेतनाको अभावले अन्धकारमय युगका रूपमा पनि चित्रण गरिन्छ। यद्यपि, समकालीन विश्वको आर्थिक, सामरिक र ज्ञानको केन्द्र पश्चिमी संसार (पश्चिम युरोप, उत्तरी अमेरिका, अस्ट्रेलिया, न्युजिल्यान्ड) हो, जुन पछिल्लो दुई सय वर्षमा मात्र अग्रस्थानमा आएको हो।
मानव सभ्यताको इतिहास हजारौँ वर्ष पुरानो छ, तर प्राचीन महान् सभ्यताहरू (सुमेर, हरप्पन, इजिप्ट, चिनियाँ) युरोपबाहिर, मुख्यतः एसिया र अफ्रिकामा विकसित भएका थिए । दक्षिण युरोपका ग्रिक र रोमन सभ्यता पनि मध्यपूर्वको प्रभावबाट प्रेरित भएको थियो। इस्वी संवत् प्रारम्भ ताका ल्याटिन सभ्यता र रोमन साम्राज्यको विरासतले पश्चिमी संसारको उदयको आधार बनायो।
सामन्तवादको उदय हुनुको पछाडि के थियोे ?
औद्योगिक क्रान्तिपूर्व विश्व अर्थतन्त्रको आधार कृषि थियो, र सामन्तवादी अर्थव्यवस्था यसको चरम रूप थियो। मानव सभ्यतामा पहिलो कृषि क्रान्तिको प्रारम्भिक चरणलाई दासयुग र पछिल्लो चरणलाई सामन्तवादी युग मानिन्छ। रोमन साम्राज्य दासयुगको उत्कर्ष थियो, जहाँ विशाल साम्राज्यको खर्च धान्न सर्वसाधारणमाथि करको भार बढाइयो। प्रशासनिक अकुशलता, भ्रष्टाचार र पाँच लाखभन्दा बढी नियमित सेनाको बोझले साम्राज्य कमजोर बन्यो। सैनिक अधिकारीहरूलाई बाँडिएको बिर्ता जमिनमा दासहरूले काम गर्थे। कर, व्यापार शुल्क, युद्धको लूटबाट साम्राज्यको संरचना चलेको थियो। तर, मध्य जर्मनीका बार्बरियन कबिलाहरूको बारम्बार आक्रमण र सन् ५४२ को ब्युबोनिक प्लेग महामारीले २०–२५% जनसङ्ख्या नष्ट गर्यो, जसले बहुआयामिक सङ्कट निम्त्यायो। राजस्व सङ्कलन र प्रशासनिक नियन्त्रण कमजोर भएपछि इसाको पाँचौँ शताब्दीमा पश्चिम युरोपमा रोमन साम्राज्यको केन्द्रीय शासन विघटन भयो। साम्राज्यकालमा ठूला दास विद्रोहहरू भए, र विघटनसँगै क्रिश्चियन धर्मको जागरण शुरू भयो। यस क्रममा दासहरूलाई मुक्त गरी क्रिश्चियन बनाउने लहर चल्यो, जसले सामाजिक र धार्मिक परिवर्तनलाई तीव्रता दियो।
छैटौँ शताब्दीमा रोमन साम्राज्यको केन्द्रीय सम्पर्क टुटेपछि ग्रामीण क्षेत्रमा स्थानीय जमिनदारहरूको नियन्त्रणमा स्वायत्त र आत्मनिर्भर कृषि-आधारित आर्थिक तथा सामाजिक इकाइहरू बने। अन्तरक्षेत्रीय व्यापारमा भारी गिरावट आयो, आपूर्ति प्रणाली भत्किएर सहरहरूमा भोकमरी सङ्कट देखियो। मानिसहरू विस्थापित भए, र सहरी बस्तीहरू सुके। रोम सहरको जनसङ्ख्या १० लाखबाट घटेर ३०/४० हजारमा झर्यो। नवनिर्मित साना राज्यहरूले प्रशासन र राजस्व सङ्कलन सुव्यवस्थित गर्न सकेनन्। मध्य युरोपमा बार्बरियन कबिलाहरूको प्रभुत्व बढ्यो, मध्यपूर्वमा मुस्लिम साम्राज्यको उदय भयो, जुन सिरिया, उत्तरी अफ्रिका, स्पेन र दक्षिणी फ्रान्ससम्म फैलियो। उत्तरी युरोपका भाइकिङहरूले बेलायत कब्जा गरे, र पूर्वी युरोपमा मेगर कबिलाहरूको आक्रमण भयो। नवस्थापित राज्यहरूमा सेना र राजस्व सङ्कलनको संयन्त्र कमजोर थियो । मुद्राको प्रचलन हरायो र नगद पारिश्रमिक दिने क्षमता भएन। यस्तो अवस्थामा फ्रान्सका राजाले सामन्तवादी प्रणाली स्थापना गरे, जुन सैनिक र राजनीतिक संरचनाबाट शुरू भई पछि आर्थिक प्रणालीका रूपमा स्थापित भयो।
सामन्तवादी प्रणालीमा राजाका सैनिक र गैरसैनिक पदाधिकारीलाई नगद पारिश्रमिकको सट्टा गाउँ वा क्षेत्रको बिर्ता दिइन्थ्यो, जसले कुत उठाउने अधिकार प्राप्त गर्थे। युरोपमा केन्द्रीय राजाले ठूला सम्भ्रान्तहरू (ड्युक, काउन्ट, मार्चड्स) लाई धेरै गाउँ समेटिएको प्रान्त वा राज्य जिम्मा लगाउँथे। मेनोरहरू खेतीयोग्य जमिन, चरनक्षेत्र, घाँसे चौर, वनजङ्गल र खाली भूभागसहित खोला-नदीको नजिक बस्थे। प्रत्येक मेनोरमा पर्खालले घेरिएको किल्ला जस्तो प्रशासनिक भवन वा दरबार हुन्थ्यो, जहाँ मेनोर मालिक वा तिनका प्रतिनिधि बस्थे। भवन परिसरमा मिल, वर्कसप, आरन भट्टी, कारखाना, बगैंचा र सजावटका संरचना हुन्थे। नजिकै किसान र भू-दासहरूका झुप्राहरूको लहर हुन्थ्यो। कुल कृषि भूमिको एकतिहाइ मेनोर मालिक (लर्ड) को स्वामित्वमा रहन्थ्यो, बाँकी जमिन किसानलाई बाँडिन्थ्यो। किसानलाई जमिन खरिद-बिक्री, गाउँ परिवर्तन वा छाड्ने अधिकार थिएन। किसानको मृत्युपछि सन्तानलाई जमिनको पुस्तैनी हक प्राप्त गर्न भारी शुल्क तिर्नुपर्थ्यो। गोरु, घोडा, गधा, खच्चड कामदार जनावरका रूपमा थिए। किसानले विभिन्न शुल्क तिर्नुपर्थ्यो । मालिकको जमिनमा निःशुल्क श्रम गर्नुपर्थ्यो । चाडपर्वमा हाँस, कुखुरा, भेडा, सुँगुर, फलफूल, तरकारीजस्ता जिन्सी कोसेली मालिकलाई बुझाउनुपर्थ्यो । किसानले मालिकको जग्गामा तोकिएकोभन्दा बढी काम गरेमा मात्र ज्याला पाउँथे।
कृषि उत्पादकत्व बढाउने युरोपेलीहरूको रहस्य के थियो ?
मध्ययुगमा युरोपको कृषि प्रणालीमा ठूलो पाङ्ग्रे हलोको आविष्कारले उत्पादकत्वमा उल्लेख्य वृद्धि गर्यो। यो हलो, आठौँ शताब्दीतिर उत्तरी फ्रान्समा विकसित, आठ-दस गोरुले तान्न सकिने थियो। यसले युरोपको चिम्ट्याइलो र साह्रो माटो भएको विशाल फाँटहरूमा खनजोत सम्भव बनायो, जुन प्राचीन मध्यपूर्वको हलुका हलोले सम्भव थिएन। ठूलो हलोले गहिरो खनजोत र छिटो काम सम्भव बनायो, जसले बालीको उत्पादकत्वमा गुणात्मक वृद्धि ल्यायो। युरोपमा पातलो बस्ती र अथाह भूमि उपलब्ध थियो। वन, जङ्गल र घाँसे मैदानहरूले पशुपालनलाई फस्टायो। साथै, खेती प्रणालीमा मध्यपूर्व र इटालीमा प्रचलित दुईवर्षे बाली चक्रको सट्टा मध्ययुगीन युरोपमा त्रिवर्षे बाली चक्र अपनाइयो। यस प्रणालीमा जमिनलाई तीन वर्षको अन्तरमा पालैपालो खेती गरिन्थ्यो, जसले जमिनको उर्वरता जोगाउँदै उत्पादन वृद्धि गर्न मद्दत गर्यो।
मध्ययुगीन युरोपमा आल्पस पर्वतहरूमा फलाम र कोइला खानीको खोजले फलाम सस्तो र सुलभ बन्यो। इपू १०००–१२०० तिर फलाम दुर्लभ र महँगो थियो, मुख्यतः हातहतियार र दरबार सजावटमा मात्र प्रयोग हुन्थ्यो। तर, मध्ययुगमा फलामको सुलभताले दैनिक जीवन र उत्पादनमूलक कार्यमा प्रभावकारी औजार निर्माण सम्भव भयो। फलामका औजार र यन्त्रले कृषि र उद्योगको उत्पादकत्वमा गुणात्मक वृद्धि गर्यो। प्रविधिको विकासले गति लियो—छालाको प्रशोधन, कपडा उत्पादन र उपकरणहरूमा सुधार भयो। जमिन जोत्ने कार्यमा घोडाको प्रयोग शुरू भयो, जसले गोरुको तुलनामा छिटो र प्रभावकारी जोताइ सम्भव बनायो। यी नवप्रवर्तनहरूले मध्ययुगीन युरोपको आर्थिक र सामाजिक संरचनालाई थप बलियो बनायो।
सहरीकरणको पुनरूत्थान कसरी भयो ?
रोमन साम्राज्यको पतनपछि युरोपमा आबादीकरण, आर्थिक र व्यापारिक विकास अवरुद्ध भएको थियो। सन् ७०० पछि ग्रामीण सामन्ती अर्थव्यवस्थाको विस्तार भयो, जुन आत्मनिर्भर प्रकृतिको थियो। दसौँ शताब्दीसम्म आर्थिक र राजनीतिक विकास स्थिर रह्यो। त्यसपछि सामाजिक र राजनीतिक वातावरण शान्त भयो, बाहिरी आक्रमण र आन्तरिक किचलो कम भए। कृषि प्रविधिको विकास, खानी उत्खनन, उद्योग र व्यापारले गति लियो। स्थानीय आवश्यकताका लागि कपडा र धातुजन्य उद्योगहरू फस्टाए। जटिल व्यापारिक सङ्गठन र बैङ्किङ प्रणालीको विकास शुरू भयो। सहरहरूमा व्यापार र उद्योग, तथा गाउँहरूमा खाद्यान्न र औद्योगिक कच्चा पदार्थको उत्पादनले पारस्परिक विनिमय, अन्तरनिर्भरता र अन्तरक्रियालाई सघन बनायो। यसले मध्ययुगीन युरोपको आर्थिक र सामाजिक संरचनालाई नयाँ गति प्रदान गर्यो।
मध्ययुगको उत्तरार्द्धमा बन्दरगाह केन्द्रहरूबाट सहरीकरण शुरू भयो। ग्रामीण क्षेत्रमा कृषि उत्पादकत्व वृद्धिले जीवनस्तर सुधार र जनसङ्ख्या विस्तारलाई प्रोत्साहन गर्यो। गाउँबाट सहरतिर बसाइँसराइ बढ्यो, र सहरहरूमा उद्योग, व्यापारका साथै नयाँ पेसा-व्यवसाय सिर्जना भए। फस्टाउँदा सहरहरूमा गाउँका अतिरिक्त जनशक्ति सहजै उपलब्ध भयो। सहरी जनसङ्ख्या वृद्धिसँगै खाद्यान्न र कच्चा पदार्थको माग बढ्यो, जसले बजारीकरणलाई तीव्र बनायो। ग्रामीण मेनोर प्रणाली विघटित र अव्यवस्थित हुन थाल्यो। दसौँ शताब्दीबाट मोहीहरूले जिन्सी वा अनाजको सट्टा नगद कुत बुझाउन थाले। जमिनदार र मालिकहरूले आफ्नो जमिन भाडामा दिन वा व्यावसायिक किसानलाई बिक्री गर्न थाले। सहरका साहू-व्यापारीहरूले पनि कृषि उद्यममा लगानी शुरू गरे, र सहर-बजार वरपर व्यावसायिक कृषि फस्टायो। यसले ग्रामीण र सहरी अर्थतन्त्रबीचको अन्तरनिर्भरतालाई थप बलियो बनायो।
बैङ्किङ प्रणालीको उदयले कसरी युरोपीय व्यापारलाई क्रान्तिकारी बनायो ?
मध्ययुगीन युरोपमा इटाली र मध्यपूर्वबीचको व्यापार घनिष्ठ र प्रसिद्ध थियो। उच्च मूल्यका विलासिताका वस्तुहरू, जस्तै मरिच र मसला दक्षिणपूर्वी एसिया (इन्डोनेसिया, मलेसिया), रेसम र पोर्सलियन चीन, फिटकिरी टर्की, र कपासजन्य पदार्थ सिरियाबाट इटाली हुँदै युरोप भित्रन्थे। यता, ऊनी र लाइनन कपडा, भुवादार छालाका लुगा उत्तरी युरोपबाट, र धातुका सामान मध्य युरोपबाट मध्यपूर्व र एसियातर्फ निर्यात हुन्थे। पछि, इटालीको जेनोभा बन्दरगाहबाट मध्यपूर्व, कृष्णसागर हुँदै मध्य एसियासम्म व्यापार विस्तार भयो। चौधौँ शताब्दीमा मङ्गोल साम्राज्यको विस्तारले (पूर्वी चीनदेखि हङ्गेरीसम्म) इटालीका व्यापारीहरूलाई मध्य एसियाको स्थलमार्ग हुँदै चीनसँग व्यापार सम्बन्ध जोड्ने अवसर दियो। मध्ययुगको प्रारम्भमा सिरियन र यहुदी व्यापारीहरूको प्रभुत्व रहे पनि उत्तरार्द्धमा युरोपियनहरू अगाडि आए। व्यापार व्यक्तिगत स्तरबाट विशाल संस्थागत कम्पनीहरूमा रूपान्तरित भयो, र वित्तीय कारोबारमा ठूला कम्पनीहरू स्थापित भए। यो संस्थागत र प्राविधिक परिवर्तनलाई वाणिज्य क्रान्ति भनियो, जुन औद्योगिक क्रान्तिभन्दा धेरै अघि युरोपमा भएको थियो।
तेह्रौँ शताब्दीसम्म लामो दूरीको व्यापार जोखिमपूर्ण, कष्टकर, साहसिक र रोमाञ्चकारी थियो। व्यापारीहरू लस्करसहित पैदलमार्गमा घात्रा गर्थे, हतियारधारी अंङ्गरक्षक लिएर लुटेराहरूको जोखिमबाट जोगिन्थे। समुद्री यात्रामा पनि लुटपाटको डरले सुरक्षादस्ता आवश्यक थियो। व्यापारीबाहेक धनाड्यहरूको लगानी हुन्थ्यो र मुनाफा मिहिनेत र लगानीको अनुपातमा बाँडिन्थ्यो। ठूला व्यापारिक सङ्गठन, यातायात साधनको परिमार्जन, गोदामघर निर्माण, उधारी, साख, र कर्जा व्यवस्थापनमा उल्लेख्य प्रगति भयो। व्यापारिक जहाजहरू भाडामा लिने प्रचलन बढ्यो, साना व्यापारीहरूले ठूला व्यापारीहरूका जहाज प्रयोग गर्थे। तेह्रौँ शताब्दीको अन्त्यसम्म सामुद्रिक व्यापार सामान्य बन्यो। बाह्रौँ शताब्दीको प्रारम्भमा भेनिस र जेनोभामा संस्थागत बैङ्कहरू सञ्चालनमा आए। यी बैङ्कहरूले लिखित अनुरोधमा खाताबीच रकम स्थानान्तरण र विश्वासिला व्यापारीलाई ओभरड्राफ्ट सुविधा प्रदान गर्थे। इटालीबाहिरका युरोपियन सहरहरूमा पनि बैङ्किङ प्रणाली विस्तार भयो, र व्यापारिक केन्द्रहरूमा शाखाहरू खुले। धातुका सिक्का बोकेर यात्रा गर्न जोखिम र कठिन थियो, त्यसैले विनिमय बिलहरूको प्रयोग र खरिद-बिक्री शुरू भयो। विभिन्न राज्यका मुद्राहरूमा एकरूपता र सटही दरको अनिश्चितताले विनिमय बिलले व्यापारलाई सहज बनायो।
औद्योगिक प्रविधिको उन्नयन कसरी भयो ?
मध्ययुगको प्रारम्भमा लामो समयसम्म प्राविधिक विकासले आर्थिक जीवनलाई खासै प्रभाव पारेन। सन् १००० सम्मको प्राविधिक स्तर प्राचीन शास्त्रीयकालको भन्दा माथि थिएन। उद्योगमा कपडा क्षेत्र अग्रणी थियो। एघारौँ शताब्दीसम्म युरोपका प्रायः घरहरूमा कपडा बनाइन्थ्यो, त्यसपछि बेल्जियमको फ्लान्डर र इटालीको फ्लोरेन्समा हजारौँ कामदारद्वारा विशिष्टीकृत उत्पादन शुरू भयो। चौधौँ शताब्दीमा दक्षिण र पूर्वी इङ्ल्यान्डमा पनि कपडा उत्पादन औद्योगिक स्तरमा पुग्यो। ऊनको कपडा मुख्य उत्पादन थियो र त्यसपछि लाइनन थियोे । जबकि रेसम र कपास इटाली र मुस्लिम स्पेनमा बनाइन्थ्यो। उत्पादन सङ्गठित र संस्थागत रूपमा हुन थाल्यो। इटालीका सहरहरूमा गिल्डहरू स्थापना भए, जुन साहुहरूले कच्चा पदार्थ र तयारी मालको व्यापारका लागि सङ्गठित सहकार्यमा बनाएका उत्पादन प्रणाली थिए। फ्लान्डर र इङ्ल्यान्डमा उद्योगपतिहरूले कच्चा पदार्थ किनेर वेवर र कालिगडहरूलाई दिन्थे, जसले घरमै काम गर्थे। यसले कपडा उद्योगलाई व्यवस्थित र व्यापक बनायो।
मध्ययुगको उत्तरार्द्धमा प्राविधिक नवप्रवर्तनले उत्पादकत्वमा उल्लेख्य वृद्धि गर्यो। खुट्टे तान, स्पिनिङ व्हील, र जलशक्तिबाट चल्ने मिलहरूको आविष्कार बाह्रौँ शताब्दीमा युरोपभर फैलियो। कच्चा फलाम र कोइलाको प्रचुर उपलब्धताले धातुजन्य उद्योगको तीव्र विकास भयो। धातुका वस्तुको तुलनात्मक लाभले उत्पादन र व्यापार फस्टायो। चौधौँ शताब्दीमा ब्लास्ट फर्नेसले पुराना आरन-भट्टीहरूलाई विस्थापित गर्यो। धातुकर्मीहरूको सङ्गठित अन्तरक्रिया र ज्ञान आदानप्रदानले नयाँ आविष्कारका लागि अनुकूल वातावरण बनायो। छालाजन्य उद्योग पनि समानान्तर रूपमा अगाडि बढ्यो। मध्ययुगीन चिन्तकहरूले चस्मा, यान्त्रिक घडी, कम्पास प्रविधिको सुधार गरे। बारुद, बन्दुक, र व्यावसायिक साबुन उत्पादन मध्ययुगकै देन थिए। कागज उत्पादन र पोर्टेबल टाइपराइटरको आविष्कारले सभ्यता र समृद्धिमा ठूलो योगदान पुर्यायो। चौधौँ शताब्दीमा यान्त्रिक घडीको आविष्कारले मानिसलाई समयप्रति सचेत बनायो, जसले व्यवहारमा नियमितता र समयबद्धता ल्यायो। जेनोभिजहरूले व्यावसायिक सम्झौतामा वर्ष, महिना, दिनका साथै समय उल्लेख गर्न थाले, जसले व्यापारिक र सामाजिक जीवनलाई थप व्यवस्थित बनायो।
कालो मृत्युले कसरी युरोपको सामाजिक-आर्थिक ढाँचा नै बदलिदियो ?
चौधौँ र पन्ध्रौँ शताब्दीतिर युरोप बहुआयामिक सङ्कटमा फस्यो। मङ्गोल साम्राज्यको उत्तरार्द्धमा फैलिएको प्लेग महामारी (कालो मृत्यु) ले सन् १३४७ मा जेनोभाका व्यापारीमार्फत सिसिली हुँदै युरोप र उत्तरी अफ्रिकामा विनाश मच्चायो। सन् १३४८–१३५१ मा युरोपको ८ करोड जनसङ्ख्यामध्ये साढे २ करोडको मृत्यु भयो। कतिपय सहरमा आधाभन्दा बढी जनसङ्ख्या नष्ट भयो, र यो महामारी एक शताब्दीसम्म दोहोरियो। यही समयमा आन्तरिक-बाह्य युद्धहरू चर्किए। बेलायत र फ्रान्सबीचको सयवर्षे युद्ध (१३३७–१४५३) ले फ्रान्सको पश्चिमी भाग ध्वस्त बनायो। पूर्वी रोमन साम्राज्य अटोमन तुर्कहरूसँग पराजित भयो। उता कृषि सङ्कटले अवस्था झन् बिग्रियो। सन् १३१५–१३१७ को महाभोकमरीले युरोपभर (बेल्जियमदेखि रसियासम्म) प्रभाव पार्यो, मृत्युदर सामान्यभन्दा दस गुणा बढ्यो। उत्तरी युरोपको मौसम बिग्रियो—जाडो लामो र गर्मी चिसो तथा ओसिलो भयो। बेलायतमा अङ्गुर लोप भयो, नर्वेमा बाली पाकेन, बाल्टिक सागर जम्यो, र जर्मनी, बेल्जियम, हल्यान्डमा बाढी आयो। जङ्गल फडानी र खेती विस्तारले इटाली र स्पेनमा भूक्षय र उर्वरता ह्रास भयो। सिकार र वन विहारका लागि आरक्षित जङ्गलमा अतिक्रमण बढ्यो, जसले सम्भ्रान्त र सर्वसाधारणबीच द्वन्द्व चर्कायो। जङ्गलको अभावले घाँस, दाउरा, र चरन क्षेत्र घट्यो, पशुपालनमा कमी आयो, र मलको अभावले कृषि उत्पादन झन् खस्कियो। जमिनदारहरूले नगद भाडा (लिज) र ज्यालादारी खेताला प्रयोग गर्न थाले। सहरी जनसङ्ख्या र अनाजको मूल्य बढे, तर ज्याला स्थिर रह्यो। सरकार र जमिनदारहरूले कर र शोषण बढाए, जसले किसानहरूको अवस्था दयनीय बनायो। जसकारण ठूलो सङ्ख्यामा हिंसात्मक किसान विद्रोह निम्त्यायो। महाभोकमरीका बेला किसानहरूले जमिनदार र मालिकविरुद्ध विद्रोह गरे। यी सङ्कट र सङ्घर्षहरूले युरोपलाई आधुनिक युगतर्फ उक्लने आधार तयार गरे। सहरी जनसङ्ख्या घट्दा कृषि उपजको माग र मूल्यमा भारी गिरावट आयो, तर श्रमिक अभावले ज्यालादर बढ्यो। सरकारले ज्याला नियन्त्रणका लागि कडा नीति लागू गर्यो, तर यो असफल भयो। चौधौँ शताब्दीको उत्तरार्द्धमा युरोपभर विद्रोह र गृहयुद्ध चर्किए। भू-दासप्रथा हट्यो, र श्रमिक अभावले ज्याला नियन्त्रण असफल भयो। जमिनदार र मालिकहरूले श्रमिक तान्न प्रतिस्पर्धा गरे, जसले ज्याला बढायो। पन्ध्रौँ शताब्दीमा इङ्ल्यान्डका कृषि श्रमिकहरूको “स्वर्णयुग” बन्यो। चौधौँ शताब्दीको विपत्ति पन्ध्रौँ शताब्दीमा आर्थिक पुनर्जागरणमा परिणत भयो। सहरहरूमा जनसङ्ख्या, उत्पादन, र व्यापार बढ्यो। सोह्रौँ शताब्दीमा आर्थिक पुनरुत्थान भयो, तर उत्पादनअनुसार माग नबढ्दा मन्दीको सङ्केत देखियो। गिल्डहरूले कडा नियम लागू गरे, व्यापारमा प्रतिस्पर्धा बढ्यो, र व्यापारिक केन्द्रहरू उत्तर-पश्चिम युरोपतर्फ सरे। इटालियन सहरहरूको व्यापारिक वर्चस्व गुम्यो, र उत्तर-पश्चिम युरोपका सहरहरू फस्टाए।
निष्कर्ष
मध्ययुगीन युरोपमा सामन्तवादी प्रणाली, रोमन साम्राज्यको विघटन, ब्युबोनिक प्लेग, र बार्बरियन आक्रमणहरूले आकार लिएको थियो, जसले सामाजिक-आर्थिक संरचनाको आधार बन्यो। त्यस्तै ठूलो पाङ्ग्रे हलो, त्रिवर्षे बाली चक्र, र फलामको सुलभताले कृषि उत्पादकत्व बढायो, भने उता सहरीकरण, व्यापार, र बैङ्किङ प्रणालीको विकासले आर्थिक गतिशीलता ल्यायो। कालो मृत्यु र महाभोकमरी जस्ता सङ्कटहरूले सामाजिक संरचनालाई हल्लाए , तर पनि श्रमिक अभाव र ज्यालादर वृद्धिले आर्थिक पुनर्जागरणको ढोका खोल्यो। यी प्राविधिक, सामाजिक, र आर्थिक परिवर्तनहरूले मध्ययुगीन युरोपलाई आधुनिक युगतर्फ डोर्याउँदै विश्व अर्थतन्त्रको केन्द्र बनाउने आधार तयार गर्यो ।
मोती प्रसाद पुन
गल्कोट १०, पाण्डवखानी, बाग्लुङ

