बागलुङ जिल्लाका धेरै खानेपानी मुहानहरूमा दिसाबाट सर्ने जीवाणु कोलिफर्म भेटिएको छ। यो जीवाणुले पानीबाट विभिन्न रोग फैलाउने गर्छ।
प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जिल्लाका १० वटा पालिकाका ३४१ पानी मुहान परीक्षण गर्दा १२५ वटा मुहानमा कोलिफर्म भेटिएको हो।
सबैभन्दा धेरै संक्रमण जैमिनी नगरपालिकाका मुहानमा देखिएको छ। त्यहाँ १०६ मुहान परीक्षण गर्दा ४२ मा कोलिफर्म भेटिएको छ।
त्यस्तै गलकोट नगरपालिकाका ९१ मुहान परीक्षण गर्दा ४० मा, काठेखोला गाउँपालिकाका ४७ मध्ये २७ मा, बडिगाड गाउँपालिकाका ६८ मध्ये १० मा र बागलुङ नगरपालिकाका २४ मध्ये ४ मा कोलिफर्म देखिएको हो।
ढोरपाटन नगरपालिकामा परीक्षण गरिएका ५ वटै मुहानमा कोलिफर्म भेटिएको छैन। तर निसीखोला, तमानखोला, ताराखोला र बरेङ गाउँपालिकामा परीक्षण भएको छैन।
स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन डिल्ली आचार्यका अनुसार, गत वर्ष १०३ मुहानमा मात्र कोलिफर्म भेटिएको थियो, तर यो वर्ष संख्या बढेर १२५ पुगेको छ।
उहाँले सबै पालिकामा परीक्षणको दायरा बढाउँदै लैजाने जानकारी दिनुभयो।
धवलागिरि अस्पतालका डाक्टर किरण तिवारीका अनुसार, कोलिफर्म भएको पानी पिएमा झाडा–पखाला, टाइफाइड, जन्डिस जस्ता रोग लाग्न सक्छ।
उहाँले यस्तो पानी उमालेर मात्रै पिउन सल्लाह दिनुभयो।
जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माका अनुसार, पालिकाले मुहान सरसफाइ, संरक्षण र जनचेतनामूलक कार्यक्रम अगाडि बढाइरहेको छ। उहाँले सबैलाई शुद्ध पानी मात्र प्रयोग गर्न आग्रह गर्नुभयो।

