बागलुङ – उच्च अदालत बार एसोसिएसन बागलुङको अध्यक्षमा अधिवक्ता गिता श्रीष काउचा थापा सर्वसम्मत निर्वाचित भएकी छन्। शुक्रबारदेखि शुरु भएको बारको ३३औं अधिवेशनबाट उनी निर्विरोध अध्यक्षमा चयन भएकी हुन्।
जिल्लामा पहिलो महिला अध्यक्षको रूपमा निर्वाचित भएकी श्रीष यसअघि बारको सदस्य थिइन्। प्रारम्भमा अधिवक्ता हरिकृष्ण सुवेदीले पनि अध्यक्षका लागि उम्मेदवारी दिएका भए पनि अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएपछि श्रीष निर्विरोध अध्यक्ष बनेकी हुन्।
निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता काजी गाउँले श्रेष्ठका अनुसार उपाध्यक्षमा लक्ष्मी बास्कोटा, सचिवमा उमाशंकर सापकोटा, कोषाध्यक्षमा रामराजा कँडेल चयन भएका छन्। त्यस्तै सदस्यमा नरेन्द्रप्रताप सिंह बुढाथोकी, तेजेन्द्र थापा, प्रकाश बराल र लक्ष्मीदेवी जिसी निर्वाचित भएका छन्। मानवअधिकार समितिको सदस्यमा गोविन्दप्रसाद ओझा चयन भएका छन्।
त्यस्तै, केन्द्रीय पार्सदतर्फ बद्रीप्रसाद शर्मा, हरि गौतम, गोविन्द गौतम र अखिलनाथ शर्मा निर्वाचित भएका छन्। सहसचिव पदमा पुग्ने व्यक्ति नै महिला समिति संयोजक हुने व्यवस्था रहेकाले सो पद रिक्त रहेको निर्वाचन समितिले जनाएको छ।
श्रीष हाल डिएलए गण्डकी प्रदेशकी सदस्य समेत रहेकी छन्।

