देशभर जेन जेड समूहले सञ्चालन गर्दै आएको आन्दोलनका क्रममा राजधानीको बालुवाटार क्षेत्रमा भएको हिंसात्मक घटनामा गलकोट नगरपालिकाका दुईवटा सवारी साधनमा आगजनी भएको छ।
गलकोट नगरपालिकाका नगरप्रमुख, उपप्रमुख तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको टोली २५ साउनकै दिन प्रशासनलाई ज्ञापनपत्र बुझाउन काठमाडौं गएका थिए। टोली फर्कने क्रममा प्रयोग गरिएका गाडीहरू बालुवाटार परिसरमा पार्किङ गरिएको अवस्थामा आन्दोलनकै बीचमा आगजनी हुँदा दुबै गाडी पूर्ण रूपमा क्षतिग्रस्त भएका हुन्।
आगलागीमा ग.१झ ३२५ नम्बरको इस्कार्पियो र ध.१झ १८ नम्बरको पिकअप जलेर नष्ट भएका छन्।
घटनापछि गलकोट नगरपालिकाले विज्ञप्ति जारी गर्दै देशभरका विभिन्न स्थानमा ज्यान गुमाएकाहरूको आत्माको चीरशान्तिको कामना गर्दै श्रद्धाञ्जलि अर्पण गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै यस दुःखद घटनाप्रति गहिरो संवेदना व्यक्त गरेको छ।
नगरपालिकाले विज्ञप्तिमा संयमता, संवाद, शान्ति र सहिष्णुतासहित सबै पक्षलाई जिम्मेवार भूमिका निर्वाह गर्न आह्वानसमेत गरेको छ।

