विश्वकर्माको पूजा किन गर्ने ?
देव शिल्पी भएकाले भगवान विश्वकर्मा मेसिनरी तथा शिल्प उद्योगसँग सम्बन्धित व्यक्तिहरुका लागि प्रमुख देवता मानिन्छन् । वर्तमान अवस्थामा कुनै पनि व्यक्तिले बिहानदेखि साँझसम्म कम्प्युटर, मोटरसाइकल, कार, मोबाइल, पानी तान्ने मोटर, मिल, टिभी अन्य बिजुलीका उपकरण आदि मेसिनरी उपकरणको प्रयोग गर्छन् । भगवान विश्वकर्मा यी सबै व्यक्तिहरुका लागि देवता हुन् । यसै कारण वर्तमान युगमा विश्वकर्माको महत्त्व पनि उत्तिकै बढी छ । ‘पहिले शिल्पकारहरुले मात्र उनको पूजा गर्ने गरेकोमा हाल घरघरमा उनको पूजा हुन थालेको छ,’ सांस्कृतिविद चन्द्रमोहन झा पड़वा भन्छन् ।
विश्वकर्माको पूजा गर्ने हो भने मेसिनरी सामानले लामो समयसम्म आफूलाई साथ दिन्छ र आफूलाई धोका दिँदैन भन्ने मान्यता छ । आफूले प्रयोग गर्ने कुनै पनि मेसिनरी सामग्रीलाई राम्रोसँग सफाई गरेमा नै विश्वकर्मालाई खुसी तुल्याएको ठहर्ने जनविश्वास छ ।
भगवान विश्वकर्माको जयन्ती वर्षाको अन्त्य र शरद ऋतु प्रारम्भ हुने बेलामा मनाउने गरिन्छ । ज्योतिष शास्त्रका अनुसार यो दिन सूर्य कन्या राशिमा प्रवेश गर्छन् । सूर्यको गति अंग्रेजी तारिखसँग सम्बन्धित हुन्छ । त्यसैले कन्या संक्रान्ति पनि प्रत्येक वर्ष १७ सेप्टेम्बरमा पर्छ । प्रायः यही दिन पर्ने भएकाले विश्वकर्मा जयन्ती पनि १७ सेप्टेम्बरमा मनाइन्छ । हाम्रो नेपालमा १ असोजमा मनाउने परम्परा रहेको छ । विश्वकर्मा पूजाको दिन खासगरी औद्योगिक क्षेत्र, कारखाना, फलामका पसल, सवारी साधन सोरुम, सर्भिस सेन्टर, वर्कसप आदिमा पूजा गरिन्छ । यस दिन मेसिन सफा गरेर रंगरोगन गरी पूजा गरिन्छ । विश्वकर्मा पूजाका दिन मेसिनमा काम गर्न नहुने मान्यता भएकाले यस्ता कलकारखाना बन्द हुन्छन् ।नेपालमा पनि विश्वकर्मा पूजा गर्ने संस्कृतिको विकास भइरहेको छ । कुनै पनि मेसिनरी कार्य गर्नेहरुले उनको पूजा गर्छन् । कुनै कार्यको शुभारम्भ गरेका बेला विश्वकर्माको पूजा अनिवार्य भएको जनकपुरधामका औषधी व्यवसायी प्रमोद अग्रवालको भनाइ छ ।
धार्मिक-सांस्कृतिक पक्ष
विश्वकर्मा हिन्दु धर्मका शिल्पकार देवता मानिन्छन्।उनीलाई देव शिल्पीवा देव इञ्जिनियर पनि भनिन्छ।पुराना धर्मग्रन्थअनुसार स्वर्गको इन्द्रपुरी,भगवान शिवको त्रिशूल, अर्जुनको गाण्डीव धनुष, विष्णुको सुदर्शन चक्र-सबै विश्वकर्माकै निर्माण हुन् भन्ने विश्वास छ। त्यसैले यो दिनलाई श्रम, सिप, प्रविधि र उत्पादन प्रती सम्मानको दिन मानिन्छ।
सामाजिक महत्व
नेपालमा विशेषगरी कारखाना, उद्योग, वर्कशप, ग्यारेज, निर्माण स्थल लगायतमा काम गर्नेहरूले यो पर्व धूमधामले मनाउँछन्। मेसिन, औजार, सवारी साधन पूजा गर्ने परम्परा छ। यसले श्रम र श्रमिकको सम्मान गर्ने संस्कार उजागर गर्छ।
आर्थिक-व्यावहारिक पक्ष
उद्योग र व्यवसायमा काम गर्नेहरूले सुरक्षित उत्पादन, राम्रो व्यवसाय र प्रविधिको विकासको कामना गर्छन्।केही दिन उद्योग-व्यवसाय बन्द भएर पनि श्रमिकको एकता र आत्मसम्मान बढाउने माध्यम बन्छ। यस दिनलाई औद्योगिक संस्कृतिको पर्व पनि भनिन्छ।
समसामयिक दृष्टि
आधुनिक युगमा विश्वकर्मा पूजालाई प्रविधि, विज्ञान र सीपप्रतिको आदर को रुपमा बुझ्न सकिन्छ। यसले युवा पुस्तालाई सीप, मेहेनत र प्रविधिमुखी भविष्यतर्फ आकर्षित गर्न सक्छ।

