बागलुङका क्रियाशील पत्रकारहरूका लागि दुई दिने मल्टिमिडिया पत्रकारिता सम्बन्धी तालिम बुधबारदेखि सुरु भएको छ।
नेपाल पत्रकार महासंघ बागलुङ शाखाको आयोजनामा तथा प्रेस रजिष्ट्रार कार्यालय गण्डकी प्रदेशको सहयोगमा सुरु गरिएको तालिमको उद्घाटन गण्डकी प्रदेश प्रेस रजिष्ट्रार बिमला भण्डारीले गर्नुभएको हो।
उद्घाटन समारोहमा बोल्दै भण्डारीले आधुनिक युगमा पत्रकारिताको दायरा विस्तार हुँदै गएको बताउनुभयो। उहाँले प्रविधिमा दक्ष पत्रकारले मात्र आधुनिक समयमा प्रतिस्पर्धा गर्न सक्ने उल्लेख गर्दै मोबाइल पत्रकारिता तालिमले बागलुङका पत्रकारहरूलाई थप सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो।
“पहिले मोबाइलबाट पत्रकारिता हुन्छ भन्ने गर्थ्यौं, अहिले त एआईको युग आइसक्यो,” भण्डारीले भनिन्, “स्थलगत रूपमा समाचार नपठाउने पत्रकार अहिलेको समयमा ढिलो भइसकेको हुन्छ। गण्डकीका सबै जिल्लामा पत्रकारिता तालिम सुरु गर्ने योजनाअनुसार बागलुङबाट यो अभियान प्रारम्भ गरिएको हो।” तालिममा प्रशिक्षक पत्रकार विकास कार्कीले मोबाइलबाट फोटो तथा भिडियो खिच्ने तरिका, सम्पादन गर्ने सीप र आधुनिक प्रविधिको प्रयोगमार्फत भिडियोसहित समाचार प्रस्तुत गर्ने विषयमा प्रशिक्षण दिनुभएको छ।
तालिममा बागलुङका ३५ जना पत्रकारहरूको सक्रिय सहभागिता रहेको पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष राम थापा अबिरलले जानकारी दिनुभयो। उद्घाटन कार्यक्रम अध्यक्ष थापाको अध्यक्षता र महासंघका सचिव नारायण रिजालको सञ्चालनमा सम्पन्न भएको थियो ।

