नेपाल पत्रकार महासङ्घ, बागलुङको आयोजनामा र प्रेस रजिष्ट्रार कार्यालय, गण्डकी प्रदेशको सहयोगमा सञ्चालित मोबाइल पत्रकारिता तालिम बिहीबार सम्पन्न भएको छ।
गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार बिमला भण्डारीले समापन समारोहमा पत्रकारको क्षमता विकास र पेसागत सुरक्षामा आफ्नो कार्यालयले सधैं सहयोग गर्ने बताइन्। उनले मोबाइल पत्रकारिता तालिमबाट मल्टिमिडिया सामग्री उत्पादन र सम्प्रेषणमा पत्रकारहरूको दक्षता अभिवृद्धि हुने विश्वास व्यक्त गरिन्।
डिजिटल माध्यमबाट मिथ्या र भ्रामक सूचना फैलिने जोखिम पनि उत्तिकै हुने उल्लेख गर्दै उनले पत्रकारले त्यसलाई चिर्दै व्यावसायिक पत्रकारिता गर्नुपर्नेमा जोड दिइन्।
कार्यक्रममा महासङ्घ, बागलुङका पूर्वअध्यक्ष हरिनारायण गौतम, रामबहादुर जिसी, उपाध्यक्ष तथा तालिम संयोजक सिर्जना पन्त, किरण आचार्यलगायतले पनि मन्तव्य राखेका थिए। प्रमुख अतिथि भण्डारीसहितका अतिथिहरूले तालिमका सहभागीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए।
महासङ्घका अध्यक्ष राम थापाले वर्ष २०८२ लाई “तालिम वर्ष”का रूपमा मनाइरहेको सन्दर्भमा पत्रकारको माग र आवश्यकताअनुसार मोबाइल पत्रकारिता तालिम आयोजना गरिएको बताए। उनले आगामी दिनमा पनि पत्रकारको सीप र दक्षता विकासका लागि तालिमलगायतका कार्यक्रम ल्याइने जानकारी दिए।
बुधबारदेखि सञ्चालित तालिममा सेन्टर फर मिडिया रिसर्च (सीएमआर) का प्रशिक्षक विकास कार्कीले सहजीकरण गरेका थिए। जिल्लामा क्रियाशील ३० भन्दा बढी पत्रकारहरूको सहभागिता रहेको उक्त तालिम सहभागीहरूका लागि अत्यन्तै उपयोगी र प्रभावकारी भएको बताइएको छ।

